justnep home

सबै नागरिकले खोप पाउँछन्, नेम्वाङले धारा ७६ (५) को गलत व्याख्या गरी मेरो जवाफ नसुनी हिँड्नुभयो : प्रधानमन्त्री देउवा

admin

काठमाडौं, ८ साउन : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि, जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नागरिकलाई पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नागरिकलाई कोरोना खोप पुर्‍याउन गरेको वाचा पूरा गरी छाड्ने छु । हामी ऋण लिएर जति महँगो भए पनि नेपाली नागरिकलाई कोरोना खोप पुर्‍याउन छौँ । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो वाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु उनले भने ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यसबीचमा सत्ता साझेदार दलहरूसँग मिलेर नागरिकले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सारे । पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेतासँग छलफल गरेर नागरिकले अनुभूति गर्ने खालका काम गरेर देखाउनु उनको भनाइ थियो ।

यस्तै प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरूलाई भन्दा नेम्वाङलाई बढी थाहा भए पनि उनले त्यसको व्याख्या गलत ढङ्गले गरेको तर्क गरे ।

उनले भने, ‘विपक्षी दलका नेता हुनुहुन्न । पूर्व सभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनी हिँड्नु भयो । त्यो संविधानमा ७५ (५) किन लेख्नुभयो ? भनी प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला के बोल्नुभएको थियो भने- अब कहिल्यै पनि पार्लियामेन्ट भङ्ग हुने छैन । म उहाँले बोल्नुभएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानुभयो ।’

प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदलाई ह्विप नलगाएको दाबीसमेत गरे । ‘पार्टीको पक्षमा मतदान गर्न मैले एमालेलगायतका सबै दललाई अनुरोध गरेको हुँ’ , उनले भने, ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्विप भनेर उल्टो कुरा गर्नुभयो ।’ देउवाले ठूलो संख्याका सांसदको साथ पाएर प्रधानमन्त्री बनेकोमा उनीहरूलाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया