काठमाडौं, ८ साउन : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गत साउन ३ गते अर्को षड्यन्त्र हुनेवाला रहेको बताउँदै प्रतिनिधिसभा जोगाउन सहयोग गरेकोमा पार्टीका २२ सांसदलाई सलाम गरेका छन् ।
शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले साउन ३ गते शेरबहादुर देउवालाई अविश्वासको मत दिएर संसद विघटन गराउने षडयन्त्र भएको बताउँदै त्यसलाई चिर्न सफल भएको उल्लेख गरे ।
देउवालाई असफल पारेर केपी ओलीले आफूले दुई पटक संसद विघटन गरेको ठीक थियो भन्ने सन्देश दिएर आफूलाई महान राजनेता स्थापित गर्न खोजेको नेता नेपालको आरोप थियो । उनले झलनाथ खनाल सहित २२ सांसदलाई आफूले सलाम गर्ने बताउँदै तटस्थ बसेका सांसदहरुलाई धन्यवाद दिए ।
यस्तै नेता नेपालले कोटेश्वरस्थित आफ्नो निवास अगाडि राती मोटरसाइकलमा १५/२० जना आएर तर्साउन खोजेको खुलासा गरेका छन् । उनले आफू त्यस्तो प्रवृत्तिबाट नर्तसिनेपनि बताए । पार्टीभित्र विवाद चर्किरहेका बेला आफूलाई तर्साउने नियतले त्यसो गरिएको उनको भनाइ थियो ।
उनले बिहीबार भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको पनि बताए । नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा पनि दिए ।