काठमाडौं, ८ साउन : नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संसद् र सरकारमा रहेका कम्युनिस्टहरूलाई मिलेर जान आग्रह गरेका छन् । ४३औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताएका हुन् ।
सदनमा र सडकमा भएका कम्युनिस्टहरूबीच तालमेल गरौँएमाले अध्यक्ष ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको आरोप अध्यक्ष वैद्यले लगाएका छन् । ‘मभन्दा बाहेक दुनियाँमा कोही छैन भन्ने देखियो । पानीजहाज, रेलका कुरा गर्नुभयो । तर उहाँको कार्यशैली भने इगो र पद प्रतिष्ठामै अड्किएको देखियो । त्यही बुद्धिले आउँछ रेल ?’ वैद्यले प्रश्न गरे । नेपालमा संसद्वादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरीका कम्युनिस्ट देखिएको उनले बताए ।
‘केही साथीहरूले संसद् र सरकारलाई नै अन्तिम लक्ष्य ठान्नु भएको छ । उहाँहरू जनवादी क्रान्ति भइसक्यो भन्नुहुन्छ, त्यस्तो भएको भए त जनजीविकामा देखिनुपर्यो नि । अर्को, मार्क्सवाद र माओवादलाई अँगाल्ने क्रान्तिकारी साथीहरू हुनुहुन्छ । जेसुकै भएपनि देशमा धेरै कम्युनिस्ट पार्टी भएको सुहाएन । संसद्वादी धारका कम्युनिस्टहरू मिल्नुस् र सरकारमा जानुस् । हामी क्रान्तिकारी धारका कम्युनिस्टहरू पनि मिल्छौँ र सडकमा रहन्छौँ,’ उनले भने, ‘तर सरकारमा गएर संसद्वादी धारका कम्युनिस्ट हरुले क्रान्तिकारीमाथि दमन नगर्नुस् । हिजो डबल नेकपाले विप्लवमाथि दमन गरेको सुहाएको थिएन । बरु हामी दुईथरीबीच जनजीविकाका विषयमा तालमेल गरौँ । तपाईंहरु संसद् र सरकार उपयोग गर्नुस्, हामी सडक उपयोग गर्छौँ ।’
उनले संसद्वादी कम्युनिस्टहरुलाई फेरि पनि मिल्न सुझाव दिए । ‘संसद्मा जाने साथीहरू एक हुनु भए हुन्छ । डबल नेकपा किन फुट्यो ?’ उनले भने, ‘सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ । सकिन्न भने सरकार र सदनमा भएका कम्युनिस्टहरू र सडकमा भएका कम्युनिस्टहरूबीच तालमेल गरौँ ।’
अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरू एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर नागरिकको सेवामा लाग्न पनि सुझाव दिए ।
उनले भने, ‘सरकारमा र संसदमा भएका कम्युनिस्टहरू एक ठाउँमा बस्नुपर्छ र सडकमा भएका कम्युनिस्टहरू पनि एक ठाउँमा उभिनुपर्छ, संसद् र सरकारमा भएका कम्युनिस्टहरूले सडकमा भएका कम्युनिस्टहरूलाई दमन गरेर जानुभएन । प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि नागरिकका लागि काम गरौँ ।’
त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताएका छन् । वैद्यले ओलीको कार्यशैली इगो र पद-प्रतिष्ठामै अड्किएको बताए । अध्यक्ष वैद्यले नेपालमा सांसदवादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरीका कम्युनिस्ट रहेको उल्लेख गरे ।