एमाले पार्टी एकताका लागि दवाव अभियान सुरु

admin

काठमाडौं, १० साउन : नेकपा एमालेका दुवै पक्षका सांसदहरुले पार्टी एकताका लागि दवाव अभियान सुरु गरेका छन्। १० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकतावद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरुसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दवाव दिन सुरु गरेका हुन।

आइतबार सिंहदरबारमा विघटित कार्य दलका संयोजक तथा सदस्यहरुसँग भेट गरी उनीहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन।

पार्टी एकतालाई मजबुत बनाउन दवाव अभियान सुरु गरिएको सांसद कृष्णप्रसाद दाहालले जानकारी दिए। उनले भने,‘पार्टी एकतालाई मजबुत बनाउन हामी दवाव दिन्छौं। त्यसका लागि सल्लाह पनि दिनेछौं। ​विघटित पार्टी एकता कार्यदललाई विश्वास पनि गर्दछौं’ उनले भने,‘शीर्ष तहमा समस्या छ भने त्यसलाई पनि मिलाउनुहोस्।

हामी तपाईँहरुको साथमा छौं। पार्टीभित्रको समस्या समाधान भन्दा बाहिर, पार्टी एकताभन्दा बाहिर कसैलाई पनि जाने अनुमति छैन। हामी जान दिँदैनौं।’

सांसदहरुले देश, जनता, राष्ट्र र लोकतन्त्रका लागि पनि एमाले विभावित हुन नहुने तर्क गरेका छन। उनीहरुले विघटित पार्टी एकता कार्यदलका नेताहरुलाई पार्टी एकता भन्दा बाहिर जाने अनुमति नभएको पनि सचेत गराएका छन।

छलफलमा विघटित पार्टी एकता कार्यदलका संयोजक तथा सदस्यहरुले १० बुँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनका आवश्यक्ताबारे सांसदहरुलाई जानकारी गराएका थिए।

१० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन सांसदहरुले आफूहरुलाई आग्रह गरेको विघटित कार्यदलका माधव नेपाल पक्षका संयोजक भीम रावलले बताए। उनले पार्टी एकतावद्ध हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए।

‘हामीले १० बुँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनको स्थितिबारे उहाँहरुलाई जानकारी गरायौं। र उहाँहरुले पार्टीलाई एक मतले एकतावद्ध बनाएर अघि लैजान जोड दिनुभयो’ रावलले भने,‘त्यसका लागि उहाँहरुले संघीय संसदका पार्टीका सबै सांसदहरु कटिवद्ध भएर लागिपर्ने बताउनु भयो।

१० बुँदे सहमति कार्यान्वयनमा पनि भूमिका खेल्नुस् भन्नु भयो। हामीहरुले एमाले एकतावद्ध भएर अघि बढने विश्वास दिलायौं।’ दुवै पक्षका दुई दर्जन बढी सांसदहरु उपस्थित थिए।

प्रतिक्रिया