निर्वाचन आयोगमा उपेन्द्र यादवको पक्ष बहुमत, ‘अब छिट्टै देउवा सरकारमा सहभागी हुन्छौँ’

admin

काठमाडौं, ११ साउन : जनता समाजवादी पार्टी (जसपा)को अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ । सोही पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए ।

सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको थियो । सोही विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो । तर, पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण आयोगले (आज)  सोमबार ‘हेड काउन्ट’मार्फत गरिरहेको हो ।

यादव पक्षलाई ठाकुर पक्षका नेताले समेत आयोगमा पुगेर ‘हेड काउन्ट’मा सघाएका छन् । यस्तै जसपाका नेता कार्यकर्ता पार्टीको आधिकारिकता विवाद समाधानका लागि भन्दै निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले पार्टी एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका हुन् ।

सनाखतका लागि आयोगमा दाबीकर्ता उपेन्द्र यादव पक्ष र जवाफकर्ता महन्थ ठाकुर पक्षलाई अलग-अलग ठाउँ तोकिएको छ । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।

सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै देउवा सरकारमा पार्टी सहभागी हुने बताएका हुन् । उनले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्न सक्ने बताए ।

प्रतिक्रिया