देश र जनताले फेरि माओवादी नै खोजेको छ : देवेन्द्र पौडेल

admin

काभ्रे, ११ साउन :  नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देश र जनताले फेरि माओवादी नै खोजेको बताएका छन्।

बिहीबार काभ्रेको बनेपामा आयोजित महाभारत गाउँपालिकाबाट विभिन्न पेसामा आबद्ध भई शहरमा बसोबास गर्ने कार्यकर्ताहरूसँगको भेटघाटमा उनले राजतन्त्रको अन्त्यसँगै संघीय गणतन्त्र, धर्मनिरपेक्षलगायत अहिलेका परिवर्तन माओवादी आन्दोलनको कारण भएको बताए।

माओवादी नै देशको अग्रगामी शक्ति भएकाले फेरि जाग्ने उनले संकल्प गरे। नेता पौडेलले माओवादी पार्टी आन्दोलन, एजेण्डा र अहिले राजनीतिक परिदृश्यबाट पनि देशको अग्रगामी शक्ति भएको पुष्टि भएको बताए।

नेता पौडेलले संविधानलाई स्वीकार नगरेर केपी ओलीले दुई/दुई पटक विघटन गरेको आरोप लगाए। भने, ‘केपी ओलीले पार्टी र सरकार सहजतापूर्वक पूरा गर्न नसक्दा दुर्भाग्यवश अहिलेको परिस्थिति सिर्जना भएको हो।’

नेता पौडेलले कोखाजोर खोलामा हाइड्रोपावर बनाउने विषयमा गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए। महाभारतमा सडक विस्तारका लागि आफ्नो तर्फबाट पहल गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे।

‘राजधानी नजिकको जिल्ला भएर पनि महाभारत गाउँपालिकामा सहज रूपमा यातायात संचालन हुन नसकेको खबर सुन्दा दुःख लागेको छ,’ उनले भने, ‘अब महाभारतको विकासका लागि आफूले सकेको सहयोग सदैव हुनेछ।’ कार्यक्रममा पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) ले महाभारत गाउँपालिकामा अब अरु पार्टीले आँखा नलाए हुने बताए।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए। कार्यक्रममा नेता पौडेलले नवप्रवेशीहरूलाई खादा र लालध्वजले टीका लगाएर स्वागत गरेका थिए।

प्रतिक्रिया