ठाकुर जस्को आफ्नो घर छैन, श्रीमती र छोराको मृत्यु

admin

काठमाडौँ, १२ साउन : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य, ७८ वर्षीय महन्थ ठाकुर जति शालीन र भद्र देखिन्छन्, उनीभित्र त्यतिकै क्रान्ति र वि’द्रोह पनि छ । महन्थको जीवन सङ्घर्षको कथाले भरिएको छ । ७८ वर्षको उमेरमा पनि उनी सङ्घर्षको राजनीतिमा सक्रिय छन् ।

महोत्तरीको पिपरा गाउँपालिकास्थित एकरहियामा जन्मेका महन्थ ठाकुर नेपाली काँग्रेस छाडेर तमलोपाको अध्यक्ष हुँदै मधेसको राजनीतिमा आएका हुन् । ठाकुरको राजनीतिक पृष्ठभूमि काँग्रेस हो । काँग्रेसमा उनको यात्रा २०१६ मा विद्यार्थी राजनीतिबाट सुरु भयो । काँग्रेसको कोषाध्यक्ष र विज्ञान तथा प्रविधि मन्त्री छाडेर २०६४ सालमा उनी मधेसको राजनीतिमा हेलिएका हुन् ।

ठाकुरको प्रारम्भिक शिक्षा गाउँमै भएको थियो । उच्च शिक्षाका लागि जनकपुर आएपछि ठाकुरले राजनीतिमा चासो लिन थाले । जनकपुरमा उनी हरिहर विरही, महेन्द्रकुमार मिश्र, केशव कोइराला आदिसँगको सङ्गतमा परेर काँग्रेसमा लागे । जनकपुरका पत्रकार राजेश्वर नेपालीका अनुसार २०२६ सालतिर ठाकुर काँग्रेसनिकट छात्र सङ्घको सभापति भएका थिए । उनी नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य पनि हुन् ।

महन्थ ठाकुर विद्यार्थीकालमा २०१७ साल पुस १ मा राजा महेन्द्रले गरेको ‘कु’ विरुद्ध आन्दोलन गर्ने क्रममा पक्राउ परे । त्यतिबेला उनीमाथि राजकाजको मुद्दा लागेको थियो । जेलमै बसेर उनले स्नातकोत्तर अध्ययन गरे । उनले कानुनमा स्नातक (बीएल) समेत अध्ययन गरेका छन् । उच्च शिक्षा सकेपछि ठाकुरले जनकपुर क्याम्पसमा प्राध्यापक भएर काम गर्न थाले । प्राध्यापकको काम गर्दागर्दै उनी राजनीतिमा पनि सक्रिय थिए । विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी सहभागी भएपछि उनलाई प्राध्यापकबाट हटाइयो ।

प्राध्यापकबाट हटेपछि उनी सन् १९७५ मा नेपाली काँग्रेसले भारतको सीतामढीमा बनाएको क्याम्पमा गए । त्यो क्याम्पको नेतृत्व गणेश नेपालीले गरेका थिए । महोत्तरीका बजरङ्ग नेपाली भन्छन्, राजा वीरेन्द्रको राज्याभिषेक हुनेबेलामा भारतीय प्रहरीद्वारा महन्थ ठाकुरसहित गणेश नेपाली, वासुदेव कोइराला लगायतका नेताहरु समातिए ।

उनीहरुमाथि हा’तह’ति’या’र ओसार–पोसार गरेको आरोप थियो । उनीहरुलाई पक्राउ गरेर विहारको मुजफ्फरपुर जेलमा राखियो । बिहारको मुख्यमन्त्रीमा कर्पुरी ठाकुर नियुक्त भएपछि उनीहरुको मुद्दा फिर्ता भयो ।

सन् १९७७ मा राष्ट्रिय मेलमिलापको नारा दिएर काँग्रेसका नेताहरु नेपाल फर्केका थिए । त्यसबेला बिहारबाट आउनेबित्तिकै महन्थलाई नेपाल प्रहरीले पक्राउ गर्यो र उनलाई सर्लाहीको मलङ्गवा जेलमा राखियो । उनी २०३६ सालमा रिहा भए । र, जनमत सङ्ग्रहमा बहुदलको प्रचार–प्रसारमा लागे । महन्थको राजनीतिक यात्रा जनकपुरबाट सुरु भएको थियो । उनको जन्मथलो महोत्तरी भए पनि कर्मक्षेत्र भने सर्लाही थियो । सर्लाहीमा उनी वकालतको काम गर्थे । वकालत गर्नुका साथै राजनीतिक सक्रियता पनि त्यस्तै थियो ।

२०४६ सालको आन्दोलनमा महन्थ जेल परेका थिए । आन्दोलन सफल भएपछि बहुदल आयो र उनी रिहा भए । महन्थ ठाकुरलाई नजिकबाट चिन्नेहरुले उनलाई त्यागी नेता मान्छन् । राजनीतिमा लागेपछि निजी सम्पत्ति त्याग गरेका छन् । उनलाई सकुम्बासी नेताभन्दा पनि हुन्छ । न उनको आफ्नो जमिन छ, न घर । ‘आदर्श’ राजनीति गर्ने जुझारु चाहनाको पछि लागेर उनले निजी सम्पत्ति त्यागे । आफैंले कमाएर जोडेको सर्लाहीको घर पनि उनले पार्टीलाई दिएको उनी निकटस्थहरू बताउँछन् ।

काठमाडौँमा महन्थ छोरी–ज्वाइँका घरमा बस्छन् । काठमाडौँबाट मधेस जाँदा कहाँ बस्ने ठेगान हुँदैन । कहिले होटलमा बस्छन्, कहिले कार्यकर्ताको घरमा । महोत्तरीमा ठाकुरको आफ्नो जग्गाजमिन र घर छैन । सर्लाहीमा काम गर्दा उनले जमिन किनेर घर बनाएका थिए । पछि उनले त्यो घर पार्टीलाई दिएको निकटस्थहरु बताउँछन् । सोही घरमा पार्टीका गतिविधि हुन थालेपछि घर छाडेर उनी डेरा लिएर बस्न थाले ।

मधेसी दल खोलेपछि ठाकुरले त्यही घरमा नयाँ दलका गतिविधि सुरु गरे । अहिले त्यहाँ जसपा नेपालको गतिविधि हुन्छ । त्यो सम्पत्ति पार्टीले उपभोग गरिरहेको छ । महन्थका दाजुभाइ दुई जना हुन् । जगदीश ठाकुर उनका दाजु हुन् । जगदीशको निधन भइसकेको छ ।

महन्थको पहिले महोत्तरीमा जग्गा र घर थियो । जनकपुर आएर राजनीति सुरु गरेपछि उनले जमिन र घरको मतलबै गर्न छाडे । त्यसको खोजबिनै गरेनन् । दाजुले नै जोतभोग गरे । महन्थका दाजुतिरको परिवार अझै पनि महोत्तरीमै छ ।

महन्थका नाति दुर्गेश ठाकुर भन्छन्, ‘हजुरबुवाले कहिल्यै केही खोज्नुभएन । राजनीतिमा लागेपछि कहिल्यै पनि घरतिर फर्केर हेर्नुभएन । जनकपुरमा बस्न थाल्नुभयो । त्यहीँबाट कहिले जेल, कहिले भारत त कहिले कहाँ–कहाँ हुनुभयो ।’ नाति दुर्गेशका अनुसार महन्थको अधिकांश समय महोत्तरीभन्दा बाहिरै बित्यो । घरपरिवारसँग मतलबै राखेनन् । उनले राजनीतिलाई नै सबथोक माने । उनका लागि परिवार र सम्पत्ति केही होइन ।

सर्लाहीमा डेरा गरी बस्दा २०४५ सालतिर खाना पकाउने क्रममा स्टोभ प’ड्कि’ए’र महन्थकी श्रीमती घाइते भइन् । उपचारकै क्रममा उनको मृत्यु भयो । महन्थको विवाह भारतमा भएको थियो । सर्लाहीको डेरामा उनी श्रीमतीका साथ बसेका थिए । महन्थका दुईजना छोराछोरी रहेकोमा दुर्घटनामा परेर छोराको मृत्यु भइसकेको छ । छोरी डा. मिनाक्षी झाको बिहाबारी भइसकेको छ ।

कांग्रेस पृष्ठभूमिका महन्थ ठाकुरले देशमा गणतन्त्र प्राप्तिसँगै आफूलाई तराई-मधेस केन्द्रित दलको नेताका रुपमा अघि बढाए। खास गरी कांग्रेसले नेपालको प्रथम राष्ट्रपतिका रुपमा अघि सारेपछि असन्तुष्ट उनले कांग्रेसबाट विदा लिने निर्णय गरेका थिए। त्यसपछि तराई-मधेस केन्द्रित राजनीति थालेका उनले तराई-मधेस लोकतान्त्रिक पार्टी बनाएका थिए। तमलोपाले मात्रै उनको राजनीतिक उचाई जोगाउन सकेन। विस्तारै मधेस केन्द्रित अन्य दलसँग एकता बढाए।

ठाकुरले कुनै बेला हृदयश त्रिपाठीसहितसँग मिलेर तमलोपा बनाएका थिए। तर अन्य दलसँग मिलेर राजपा गठन भएसँगै त्रिपाठीले छुट्टै राजनीतिक समूह खडा गरे। उनले दल त खोलेनन् तर २०७४ को निर्वाचनमा उनी एमालेको सूर्य चिन्हबाट चुनाव लडे। आफूसहित प्रदेशमा पनि केही सांसदलाई उनले जिताउन सफल भए।

हृदयश त्रिपाठी बाहिरिएपछि तमलोपा र नेपाल सद्भावना पार्टीसहित मिलेर बनेको राष्ट्रिय जनता पार्टी मधेसको प्रमुख शक्तिका रुपमा उदाएको थियो। त्यही शक्तिलाई अझै बलियो बनाउन ठाकुर पक्षले उपेन्द्र नेतृत्वको समाजवादी पार्टीसँग एकता गरेको थियो। जसपामा ठाकुरले आफूलाई प्रथम अध्यक्षका रुपमा चिनाउँथे। उता उपेन्द्र यादव र डा. बाबुराम भट्टराई जसपाको अध्यक्षको भूमिकामा थिए।

सुरुमा गैरसरकारी संस्थामार्फत मधेस आन्दोलन उठाउँदै राजनीतिको मूलधारमा आएका उपेन्द्र यादव र माओवादी छाडेर नयाँ शक्ति पार्टी हुँदै जसपामा आइपुगेका डा. भट्टराईसँगको सहयात्रा ठाकुरका लागि अन्तत: प्रत्यूत्पादक भएको छ। ७० काटिसकेको अवस्थामा अब निर्वाचन आयोगको निर्णयानुसार उनले मधेसको राजनीतिमा स्थापित हुन नयाँ पार्टी खोल्नुपर्ने भएको छ।

अबको यात्रा : जसपा विवादले कानुनी निकास पाउने क्रममा ५१ केन्द्रीय कार्यकारिणी समितिका ३४ जना उपेन्द्र यादवतिर उभिए । ठाकुरको पक्ष उनीसहित १६ जना मात्र रहे ।

निर्वाचन आयोगले बहुमत जुटाएको यादव पक्षलाई जसपाको अधिकारिकता दिएको छ । अब उनीसामू बहुमत पक्षको निर्णय मानेर सांसद पद जोगाउन साधारण सदस्य मात्र बनेर बस्ने अप्ठ्यारो विकल्प छ । जुन बाटो उनले समात्ने देखिँदैन ।

आयोगले ठाकुर र उनको समूहलाई विकल्प दिएको छ, नयाँ दल दर्ता, तर प्रचलित कानूनअनुसार । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल दर्ताका लागि ठाकुर पक्षले जसपाको कार्यकारिणी समिति र संसदीय दलको ४० प्रतिशत पुर्‍याउनुपर्छ ।

यसो भए मात्र नयाँ दल बनाउँदा दल त्याग ऐन आकर्षित हुन्न । अन्यथा नयाँ दल दर्ता गर्दा जनप्रतिनिधि कारबाहीमा पर्नेछन् । अर्थात नयाँ दल बनाउँछु भन्दा सांसदहरू पद गुमाउन तयार नहुन सक्छन् र ठाकुर थप एक्लो हुनसक्छन् । यो अवस्था कम्तीमा आगामी निर्वाचनसम्म रहनसक्छ । ईताजा खबर बाट

प्रतिक्रिया