सांसद पद जोगाइदिन माग गर्दै टोपबहादुर रायमाझीसहित चार नेताद्वारा सर्वोच्चमा रिट

admin

काठमाडौं, १३ साउन : नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।

यस्तै नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । बुधबार सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रिट दर्ता गराएका हुन् ।

सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनर्स्थापना गरिदिनुपर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीले जानकारी दिएका छन् । माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमालेको दशौँ महाधिवेशन कमिटी भङ्ग गरिदिएकाले आफूहरू पार्टीविहीन अवस्थामा रहेको नेता रायमाझीको गुनासो छ ।

सर्वोच्चले कर्णाली प्रदेशका सांसदलाई पुनर्स्थापना गरिदिएकाले आफूहरूको पनि पद बिउँताउनुपर्ने रायमाझीले बताए । माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरे पनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन् । कारबाही गर्दा आफूहरूलाई सफाइको मौका पनि नदिइएकाले कारबाही बदर गर्न लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माग गरेका छन् ।

माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो । कारबाही भएको र सांसद पदबाट हटाएको झण्डै ४ महिनापछि रायमाझी सर्वोच्च अदालतमा गुहार माग्न पुगेका हुन् ।

रायमाझीले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, अध्यक्ष पुष्पकमल दाहाल, निर्वाचन आयोग, संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गरेका हुन् । सर्वोच्च अदालतले रायमाझीको रिट बिहीबारका लागि पेसीमा चढाएको छ ।

 

प्रतिक्रिया