विश्वका एक सय ३२ देशमा फैलियो ‘डेल्टा भेरियन्ट’

राष्ट्रिय समाचार समिति

काठमाडौं, १५ साउन : विश्वभरि कोरोना भाइरसबाट संक्रमितको साप्ताहिक संख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए । संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य सम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा वृद्धि भएको जनाएको छ ।

पछिल्लो हप्ता दैनिक विश्वभरि पाँच लाख ४० हजार संक्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्ल्यूएचओको भनाइ छ । त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गएको हप्ता ज्यान गुमाएकाहरुको संख्यामा पनि थोरै वृद्धि भएको डब्ल्यूएचओका अधिकारीहरुले जनाएका छन् ।

डब्ल्यूएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गामा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्ल्यूएचओले जनाएको छ ।

संक्रमितहरुको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् । कतिपय देशहरुमा कोरोना भाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ ।

प्रतिक्रिया