पच्चीस करोड क्षतिपूर्ति माग गर्दै अभिनेत्री शिल्पाले हालिन् पत्रकारविरुद्ध मुद्दा

admin

एजेन्सी, १५ साउन : बलिवुड अभिनेत्री शिल्पा सेट्टीले केही सञ्चारमाध्यममा प्रकाशित भएका समाचारहरूले आफ्नो मानहानी गरेको भन्दै त्यसविरुद्द अदालत गएकी छिन् । अभिनेत्री शिल्पाले २९ मिडियाकर्मी तथा मिडियाविरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी हुन् ।

मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शिल्पाले आरोप लगाएकी छिन् । टाइम्स अफ इण्डियाका अनुसार अभिनेत्री शिल्पाले पछिल्लो समय विभिन्न मिडियामा प्रकाशित समाचार र भिडियोले अफवाह फैलाएको र मानहानी गरेको भन्दै बम्बै हाइकोर्टमा मुद्दा हालेकी हुन् ।

अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा शिल्पाका श्रीमान राज कुन्द्रा विवादमा फसेका छन् । हरेक दिन यो विषयसँग जोडिएर केही न केही समाचारहरु भारतीय मिडियामा आइरहेका छन् । जसका कारण शिल्पाका पति झन्–झन् समस्यामा पर्न थालेपछि शिल्पाले मिडियाविरुद्ध मुद्दा हालेकी हुन् ।

राज कुन्द्राको अश्लील भिडियो निर्माणको मामलामा अभिनेत्री शिल्पासँग पनि सोधपुछ भएको छ । यो मुद्दामा शिल्पाले राज कुन्द्रा र आफ्नो बारेमा मिडियाले आफ्नो विषयमा र छवि बिगारेको आरोप लगाएकी छिन् । अघिल्लो साता अभिनेत्री शिल्पाका श्रीमान तथा व्यापारी राज कुन्द्रा अश्लील चलचित्र बनाएको र प्रसारण गरेको आरोपमा पक्राउ परेपछि शिल्पाका बारेमा लगातार समाचार माध्यमहरुले समाचार प्रकाशित भइरहेका छन् ।

सोही विषयमा आफूलाई जोडेर आधारहीन समाचार र भिडियो मिडियामा आएकाले ती भिडियोलाई हटाउनु पर्ने, सम्बन्धित मिडियाले माफी माग्नुपर्ने र आफूलाई २५ करोड भारु क्षतिपूर्ति दिनु पर्ने भन्दै शिल्पाले मुद्दा हालेकी हुन् । श्रीमानमाथि लागेको आरोपमा आफ्नो कुनै संलग्नता नरहेको भए पनि झुठो समाचार आइरहेकाले समाज, प्रशंसक र परिवारमा आफ्नो छवि धुमिलिएको शिल्पाले बताएकी छिन् ।

प्रतिक्रिया