काठमाडौंँ, १५ साउन : पूर्वयुवराज पारस शाहले प्र हरीमाथि अभद्र व्यवहार गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्र हरीलाई अभद्र व्यवहार गरेका हुन्।
हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रह रीले समातेको थियो। पारसले त्यसक्रममा प्रह रीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ।
शाह समर्थकसहित देखिएका थिए। भिडिओमा एक जना प्र हरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ। तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ। ‘ट्राफिक प्रहरीले समातेपछि वादविवाद भएको हो, उहाँलाई सम्झाएर पठाइएको छ,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने।
पूर्वयुवराज शाह अधिकांश ठाउँमा उनले चलाउने गरेको मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका छन्। उनले त्यहाँ पनि आफूले कहिल्यै हेल्मेट लगाएको देखेको छ? कहीँ रोकेको छ मलाई? भनेका थिए। उनको हात अँठ्याएका प्रहरीले माथिल्लो निकायमा वाकीटकीमा खबर गरिरहेको भिडिओमा देख्न सकिन्छ। वाकीटकीमा कुरा गर्दा प्रहरीले नशामा रहेको व्यक्तिलाई नियन्त्रणमा लिनुपर्ने र गाडी पठाउन जाहेर गरिरहेका देखिन्छन्।
शाहले भने आफूले ‘ड्रिङ्स गरेको छैन’ भनिरहेका थिए। तर, ट्राफिक प्रहरीको उपत्यका नेतृत्वलाई भने यो खबर जानकारीमा नै छैन। ‘खै यो खबर मलाई जानकारीमा छैन,’ महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई भन्छन्।
वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका थिए। यही व्यवहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबाही प्रहरीले चलाउँथ्यो। प्रहरीलाई हप्कीदप्की तथा अभद्र व्यवहार गर्दा कसुर अनुसार कारबाही पनि हुन्थ्यो। संक्रामक रोग अन्तर्गत जारी भएको ऐन अनुसार आकर्षित गरेर पनि प्रहरीले उनलाई कारबाही गर्न सक्थ्यो।