तुइनमा भुन्डिएको सुदुर : महाकालीमा बग्दै सपना

admin

काठमाडौं, १८ साउन : दार्चुलाको व्यास गाउँपालिका – २ मालका ३३ वर्षीय जयसिंह धामी जिल्ला सदरमुकाम खलंगा जान महाकालीमा तुइन तर्ने क्रममा शुक्रबार तुइनसँगै नदीमा खसे । भारतीय एसएबीले टुडीको रुखमा बेरिएको तुइनको तार फुस्काइदिएको उनी तुइनसँगै नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

परिवार पाल्न समस्या भएपछि वैदेशिक रोजगारीका लागि काठमाडौं जान हिँडेका जय सिंहको सपना महाकाली नदीमै बिलायो । उनको अवस्था आइतबारसम्म अज्ञात छ । महाकालीमा पुल नहुँदा अहिले पनि तुइनको भरमा नदी तर्नुपर्ने बाध्यता छ । तुइनबाट खसेर बर्सेनि ज्यान गुमाउनुपर्ने नियति दार्चुलावासीको छ ।

व्यास गाउँपालिका २ का वडाध्यक्ष धिरेन बुढाथोकी वडा नं. २ मा मात्रै ०४९ सालयता तुइनबाट खसेर १८ जनाले ज्यान गुमाएको बताउँछन् । यही अवस्था व्यास गाउँलिकाका अरु वडाको पनि छ । व्यास गाउँपालिकाबाट महाकाली तर्न ड ठाउँमा तुइन प्रयोग गरिने स्थानीय बताउँछन्।

यसअघि २०७५ असार ३० मा बझाङस्थित बाउली खोलामा पुल नहुँदा बनाइएको साघुँ तर्दै गर्दा दुई बालिकाको बगेर मृत्यु भएको थियो । सुर्मा गाउँपालिका २ की १५ वर्षीया विमलाकुमारी बोहोरा र सोही गाउँकी ९ वर्षीया रिनुकुमारी बोहोरा विद्यालयबाट घर फर्कने त्र,ममा बगेर बेपक्ता भएका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया