महाकाली घटनाप्रति जुनसुकै अडान लिन तयार छौँ, प्रतिवेदन आउनुअघि कुनै राय दिन मिल्दैन : गृहमन्त्री

admin

काठमाडौं, १८ साउन : गृह मन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन् । (आज) सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृह मन्त्री खाँडले यस घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिसकिएको जानकारी दिँदै छानबिन समितिको प्रतिवेदन आउनुअघि सरकारले कुनै राय दिन नमिल्ने बताएका हुन् ।

उनले छानबिन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने उनले बताए । प्रतिवेदन प्राप्त गरेपछि नै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ । उनले साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएको घटना दुःखद र संवेदनशील रहेको बताए ।

उनले त्यही दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट त्यस घटनाको सम्बन्धमा वास्तविक तथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित तीन जनाको टोलीले स्थलगत छानबिनका लागि घटनास्थलमा खटिएको बताए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढमा रहेको जिल्लाधिकारीलाई त्यस घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उनले जानकारी दिए । जयसिंह धामी भन्दा अगाडि त्यस ठाउँको तुइन तरी भारततर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिराम सिंह धामीसँग सोधपुछ भइरहेको गृह मन्त्री खाँडले बताए ।

यस्तै तुइन तर्न बाँकी अनिता धामी, विक्रम राम कोली र कल्याण धामीलाई बुझ्नका लागि जिल्ला सदरमुकाम बोलाइएको, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षाका पाँच वटा बेसबाट खोजीको काम भइरहेको र बैतडी र कञ्चनपुर जिल्लाको पालिकाबाट पनि खोजमा समन्वय गर्ने काम भइरहेको उनले जानकारी दिए ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुत्तराज थापा, जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीसमेत पाँच जना रहने गरी स्थलगत रूपमा छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरी घटनास्थलमा पठाइसकिएको उनले बताए ।

प्रतिक्रिया