राजनीतिमा पनि लाग्न सक्छु, पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो : पारस खड्का

admin

काठमाडौं, २० साउन : क्रिकेटर पारस खड्काले सही अवसर प्राप्त भएमा आफू राजनीतिमा पनि लाग्न सक्ने बताएका छन् । तर तत्काल भने नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उनको भनाइ छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसअघि नै क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सक्नेतर्फ लाग्नुपर्छ, मेरो पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो । राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ?’,

उनले अहिले उचित समय लागेर अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको पनि बताए । ‘यो राइट टाइम भनेर अनाउन्समेन्ट गरेको हो’, उनले भने । नेपाली क्रिकेट टिमभित्रको वातावरणलाई आफूले सधैँ मिस गर्ने खड्काले बताए । उनले आगामी दिनमा क्रिकेटलाई कसरी राम्रो गर्न सकिन्छ भनेर क्यानसहितका अधिकारीलाई आइडिया दिनसक्ने भन्दै आगामी दिनमा मौका मिलेमा क्यानमा कुनै भूमिका निर्वाह गर्न सक्ने पनि बताए । छिट्टै क्रिकेट एकेडेमी लन्च गर्न लागेको जानकारी दिँदै उनले त्यसलाई नेपालभर लिएर जाने पनि बताए ।

प्रतिक्रिया