आज एकैदिन ४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि, थप ३५ जनाको ज्यान गयो

admin

काठमाडौं, २० साउन : बुधबार देशभर चार हजार एक सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार तीन सय ५४ जनाको पीसीआर र चार हजार नौ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार दुई सय ९८ नमुना परीक्षण गर्दा चार हजार एक सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षण गरिएकामध्ये २६ प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको र यो दर निकै माथि भएकाले सचेतता अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । नेपालमा कोरोनाका संक्रमितको संख्या सात लाख ६९ हजार नौ सय २२ जना पुगेको छ ।  बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै एक हजार दुई सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौंमा नौ सय आठ जना, भक्तपुरमा दुई सय ६ जना र ललितपुरमा एक सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा एक हजार पाँच सय ३५ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६६ हजार ६ सय ५१ पुगेको छ । यही अवधिमा थप ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार नौ सय ५७ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार चार सय ६४ रहेको छ ।

प्रतिक्रिया