सरकारले जहाँ पठाए पनि जान तयार छु : हितेन्द्रदेव शाक्य

admin

काठमाडौं, २० साउन : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ पठाए पनि जान तयार रहेको बताएका छन् । बुधबार प्राधिकरणमा पत्रकारहरूसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरू जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिँदै उनले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाए पनि आफू तयार रहेको जवाफ दिएको बताएका हुन् ।

उनले आफू इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाए पनि काम गर्ने बताए । कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोरोना संक्रमणका कारण लकडाउन भएको भए पनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेको बताए । अघिल्लो वर्षभन्दा यस वर्ष कम नै विद्युत् आपूर्ति रोकिएको उनले बताए ।

अस्पतालहरूलाई विद्यु्त् नजाने गरी बस्दोबस्त मिलाएको तथा गइ हालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याएको शाक्यले स्पष्ट पारे । यसबीचमा ढल्केबर ४०० केभी सबस्टेशनलाई नेपाल भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती-ढल्केबर २२० केभी सञ्चालन गरेको, माथिल्लो तामाकोशीको कामलाई अगाडि बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लामा १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलो पटक सात ग्रिडको विद्युत् पुर्‍याएको उनले बताए ।

शाक्यले यो वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए । घरघरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन जान नसक्दा १ दशमलव ६ प्रतिशत चुहावट बढेको उनले बताए । आउँदा दिनमा प्रसारण लाइन र वितरण लाइनमा जोड दिइने पनि उनले बताए ।

प्रतिक्रिया