२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित

admin

काठमाडौं, साउन २२ : दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित बन्न पुगेको हो ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण समेत गरिएको थियो । तर, यसरी वितरण गरिएको तीन महिनामै असार पहिलो सातादेखि निरन्तर रुपमा मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुर्याएसँगै मेलम्ची आयोजना नै अनिश्चिन बनेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले असार पहिलो साता र साउन दोस्रो तेस्रो मेलम्चीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको जनाएको छ । मन्त्रालयले भौतिक संरचनामा पुगेको क्षतिका कारण अब उक्त संरचना निर्माणका लागि कति समय लाग्ने भन्ने टुंगो लागिनसकेको जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जलाधार क्षेत्रमा अहिले पनि बाढी पहिरो आउने क्रम नरोकिएकाले तत्काल नै काम थाल्न सकिने अवस्था नरहेको बताए । पुरिएको नदी खोल्न बाटो र पुल मुख्य कुरा भएकाले वर्षा सकिएपछि पुस माघबाट काम थाल्न सकिएमा त्यसको तीन महिनासम्ममा पुनः काठमाडौं उपत्यकामा पानी ल्याउन सकिन्छ कि भन्नेमा आफूहरु रहेको उनी बताउँछन् ।

मेलम्चीको हेडबक्सभन्दा माथिबाट लेदोसहितको बाढी आउँदा आयोजनाको संरचनामा पनि क्षति पुगेको हो । मेलम्ची खानेपानी समितिका अनुसार बाढीका कारण आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडबक्स’ बाहेक अरू संरचनामा क्षति पुगेको छ ।हेडबक्सलाई पनि हिलोले पुरेको आयोजनाले जनाएको छ । वर्षा लागेसँगै लगातार रुपमा आइरहेको लेदो सहितको ठूला साना बाढीका कारण आयोजनाको बाँधस्थल पूर्णरुपमा पुरिएको छ भने पुल, निर्माण उपकरण, निर्माण सामग्री, आयोजनाको क्याम्प बाढीले बगाएको छ । पहिरोका कारण आयोजनाको २१० किलोमिटर डाइभर्सन टनेल र अम्बाथानस्थित टनेल अडिट पोर्टमा लेदो भरिएको आयोजनाले जनाएको छ ।

मन्त्रालयले क्षति तथा आयोजनाकोदीर्घकालीन अध्ययनका लागि एसियाली विकास बैंकलाई आग्रह गरेको छ । मेलम्ची आयोजनका प्रवक्ता पन्तले बाढी र पहिरोबाट १ अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जनाएका छन् ।

मेलम्चीको पानी काठमाडौं उपत्यकासम्म ल्याउनका लागि रु ३५ अर्ब भन्दा बढी खर्च भएको थियो । त्यसमा ३३ प्रतिशत नेपाल सरकार, ४६ प्रतिशत एसियाली विकास बैंक र अन्य दातृ निकायको सहयोग रहेको छ । कुल रकममध्ये १अर्ब १२ करोड मुआब्जाका लागि वितरण गरिएको थियो ।

यसअघि, १५ चैत २०७७ बाट मेलम्चीको पानी वितरण सुरु गरिएकोमा चैत तेस्रो साताबाट औपचारिक रुपमा वितरण सुरु गरिएको थियो । सुरूङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा विछ्याइएको थोक वितरण पाइपलाइनहरूको सफल परीक्षणपछि मेलम्चीको पानी काठमाडौंबासीका धारासम्म पुर्याइएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया