उपचार व्यवस्थापनमा के गर्दैछ सरकार ?

admin

काठमाडौं, साउन २२ : सरकारले आगामी मंसिरसम्म थप नौ हजार ६ सय ९३ जनामा गम्भिर संक्रमण देखापर्ने आँकलन गरेको छ । मंसिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारीमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण रोकथामका लागि आइसीयु बेड संख्या तीन हजार पुर्‍याईएको छ । यस्तै, ६ सय ३० आइसीयु बेड थप गर्ने प्रकृयामा स्वास्थ्य मन्त्रालय रहेको छ । हाल आइसीयु बेड संख्या दुइ हजार ६ सय रहेको छ ।

यस्तै, देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या नौ सय पुर्‍याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले भेन्टिलेटरको संख्या एक सय ८० थप गर्ने प्रकृयामा रहेको बताए ।

सरकारी अस्पतालहरुमा हाइ डीपेन्डेन्सी युनिट(एच.डी.यु.) बेड संख्या दुइ हजार ७५ र नीजिमा सात सय ७८ थप गरी दुइ हजार आठ सय ५३ सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले एक हजार चार सय हाइडीपेन्डेन्सी युनिट वेड थप गर्ने प्रकृयामा रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार बालबालीकाहरुका लागि एक सय ८० भेन्टिलेटरसहितको दुइ सय ७५ आइसीयु बेड थप्ने कार्य भइरहेको छ ।

कोभिड १९ लाई मध्येनजर गर्दै अक्सिजन आपूर्ति व्यवस्थालाई सुदृढ गर्न ६ हजार अक्सिजन सिलिण्डर थप भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.पौडेलले भने, ‘पाँच हजार पाँच सय अक्सिजन कन्सट्रेटरको व्यवस्था भइसकेको र थप तीन हजार पाँच सय आउने क्रममा रहेका छन् ।’ यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया