जितेको २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिएर बाँकी पैसाले एम्बुलेन्स सहयोग गर्छु : किरण गजमेर

admin

काठमाडौं, २४ साउन : ‘द भ्वाइस अफ नेपाल सिजन-३’ को उपाधि विजेता किरण गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताएका छन् । (हिजो) शनिबार उपाधिको छिनोफानो भएसँगै उक्त कार्यक्रममा गजमेरले आफूले जितेको रकमबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् ।

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा पाएको दुःख कष्ट सम्झँदै उनले उपचार नपाउँदा हजुरआमालाई गुमाएको भन्दै एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । उनले भने, ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’ उनले बिरामी भएका बेला एम्बुलेन्सलाई घण्टौँ कुर्नु पर्ने बाध्यता रहेकाले धेरैले उपचार नपाउने गरेको पनि बताएका छन् । विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै उनले भनेका छन्, ‘ट्रफी त लैजान्छु नै । जितेको २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिन्छु । अनि जितेको पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र पैसा बाँकी रहे कोरोना विरुद्धको खोप लगाउनबाट वञ्चित भएकाहरुलाई सहयोग गर्छु ।’

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन-३’ को उपाधिको छिनोफानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपालको उपाधि जितेका हुन् । किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद पनि दिएका छन् । अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् ।

प्रतिक्रिया