निःशुल्क पाइने औषधिका बारेमा जानकारी छैन, नागरिकले थाहा पाउने गरी जानकारी गराइयोस् : नन्दा चपाई

admin

काठमाडौं, २४ साउन : राष्ट्रिय सभाकी सांसद नन्दा चपाईले सुर्खेतमा प्रसूति गृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अकालमा दुर्गम क्षेत्रका धेरै गर्भवतीले ज्यान गुमाउनु परेको उल्लेख गर्दै सुर्खेतमा तत्काल प्रसूति गृह अस्पतालको निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद चपाईले निःशुल्क पाइने औषधिको सूची आम नागरिकले थाहा पाउने गरी सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराइन् । उनले भनिन्, ‘केही औषधि निःशुल्क पाइन्छ भन्ने सुनिन्छ । तर कहाँ र कसरी पाइन्छ ? नागरिकलाई जानकारी छैन । भएका निःशुल्क पाइने औषधि पनि समय अवधि सकिएर डम्पिङ साइटमा फाल्ने गरेको पाइएको छ । यसप्रति सरकारको ध्यान जान अति आवश्यक छ । म सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु- त्यस्ता निःशुल्क पाइने औषधिको सूचीसहितको नामाकरण नागरिकले थाहा पाउने गरी जानकारी गराइयोस् ।’

सांसद चपाईले दुर्गम क्षेत्रका नागरिकका लागि सडकलगायतका भौतिक पूर्वाधार निर्माणको काममा जोड दिन सरकार लाग्नुपर्नेमा पनि जोड दिइन् । उनले सडकलगायतका भौतिक पूर्वाधारको अभावमा दुर्गम क्षेत्रका बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया