मन्त्री र सचिवले गुप्त कोठामा गर्ने काम नागरिकले पनि थाहा पाउनुपर्छ : डा. देवकोटा

admin

काठमाडौं, २४ साउन : राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले मन्त्रालयका मन्त्री र सचिवले गुप्त कोठामा बसेर गर्ने काम कारबाहीको सीसी टीभी क्यामेरामा देखिने गरी राख्न माग गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले मन्त्री र सचिवले गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि नदेखिएको भन्दै उनीहरूको काम कारबाही देखिने गरी सीसी क्यामेरा राख्नु आवश्यक रहेको बताएका छन् ।

गुप्त कोठामा बसेर काम गरेको नागरिकले देख्न पाउनुपर्ने उनले बताए । यसो गरेमा अनावश्यक भेटघाट बन्द हुने, कार्यालय छोडेर एनजीओ, आईएनजीओको कार्यक्रममा जाने बानीमा सुधार ल्याउने राष्ट्रिय सभा सदस्य देवकोटाले उल्लेख गरे । उनले सरकार साझा नीति तथा कार्यक्रमबाट पनि विचलित हुन नहुने बताए । सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बन्नुपर्ने र संयन्त्रको सुझावलाई अक्षरश कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘यत्रो शासन व्यवस्था परिवर्तन भयो तर जनताले अपेक्षा गरे अनुसारको सेवा पाएनन् भन्ने ठूलो गुनासो छ । सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अङ्ग निरन्तर क्रियाशील हुनुपर्छ । रचनात्मक हुन पनि जरुरी छ । पारदर्शी र जवाफदेहीता पनि त्यत्तिकै आवश्यक छ । यसै सन्दर्भमा एउटा काम यो सरकारले गरोस्, हाम्रै अध्यक्ष र संसद् सचिवालयले पनि लागू गरे हुन्छ । हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेको काम कारबाहीको बारेमा कोठा बाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन । शासकहरू पारदर्शी भएनन् । गुप्त कोठाको अनुहार नागरिकले देख्न पाउनुपर्छ । पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागजहरू मिलाएर राति दुई बजे संसद् विघटन गर्ने हिम्मत गर्ने थिएन । यसले अनावश्यक भेटघाट रोक्छ । समयमै कार्यालय पुग्ने बानीको विकास हुन्छ । कार्यालय छाडेर एनजीओ, आईएनजीओका कार्यक्रम र अनावश्यक रूपमा रिबन काट्न जाने बानीमा सुधार ल्याउँछ ।’

प्रतिक्रिया