कास्की, २५ साउन : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड-१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए ।
उनले भने, ‘हामीले समयमै सम्पन्नका लागि द्रुत गतिमा काम गरेका छौँ तर कोभिड-१९ का कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही सामानका कारणले समय धकेलिन पुग्यो । उनले विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्यान्डफिल साइट हटाउन पनि समस्या रहेको र यसबारेमा पनि काम अघि बढेको जानकारी दिए ।
उनका अनुसार विमानस्थल निर्माणका लागि सात सय जनशक्ति रहेकामा अहिले पनि चार सय जनाको हाराहारीले काम गरिरहेकाका छन् । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको यो विमानस्थल कुल २२ अर्ब चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि सुरु भएको थियो ।
आयोजनका इन्जिनियर मीनराज ओझाका अनुसार अहिलेसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ । फिनिशिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेशन, इक्युपमेन्ट जडान, पाइप लाइन बिछ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । उनले अहिलेसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङ्गरसँगै रनवे लाइट, ट्याक्सी लाइट, एप्रोज लाइटलगायत १४ वटा संरचनाको फिनिशिङ कार्य भइरहेको जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६ सय स्क्वायर मिटरमा बन्नेछ । आठ हजार ६ सय स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार ६ सय स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विसं २०३२ देखि अधिग्रहण गर्ने कार्य सुरु भएको र जम्मा तीन हजार एक सय ६ रोपनी जग्गाको मुआब्जा दिइ अधिग्रहण गरिएको थियो । त्यससँग आउटर पेरीफेरी रोड, ग्लाइड पथ, एप्रोज लाइट, मिटरोलोजिकल र्याडर, घर स्टेशनका लागि जग्गा र घरटहरा अधिग्रहण कार्य भएको छ । विमास्थल तीन हजार सात सय ९९ रोपनी क्षेत्रफलमा रहेको छ ।