मेलम्चीमा तत्काल चारवटा यान्त्रिक पुल बनाउने सरकारको निर्णय, निर्माणको जिम्मा सेनालाई

admin

काठमाडौं, २६ साउन: सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको हो ।

त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ भने सो पुलको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी दिनुभयो ।

बैठकले बाढी र पहिरोको चपेटामा परेका मनाङ, गोरखा र बाजुरालगायतका ठाउँहरुमा खाद्यान्न र अस्थायी आवासको आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । खाद्यन्न, अस्थायी आवास, औषधिलगायतका अत्यावश्यक सेवाका लागि चाहिने सामग्री हेलिकप्टरमार्फत् तत्काल ती क्षेत्रहरुमा लैजाने काम भोलीबाट सुरु गर्ने निर्णय गरिएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् प्राधिकरणका अध्यक्ष देउवाले बाढी, पहिरोलगायतका विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि प्रभावकारी ढंगले काम गर्न सम्बन्धित सबै निकायलाई सचेत गराउनु भएको थियो । त्यस अवसरमा प्राधिकरणका पदाधिकारीहरुले बाढी, पहिरो र डुबानबाट देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

प्रतिक्रिया