काठमाडौं, ३० साउन : नुवाकोटको बेलकोटगढी न पा वडा नं. ७ रातमाटेमा एमसीसीका लागि एमसीए नेपालले अधिग्रहण गरेको करिब ४ सय रोपनी जमीनमा संरचना निर्माण गरिन लागिएको स्थलमा धावा बोल्दै स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी(एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आज हजारौंको संख्यामा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर सो स्थान कब्जा गरेको घोषणा सहित एमसीसीले कुनै पनि संरचना निर्माण गरेमा ध्वस्त गर्ने चेतावनी दिएको छ ।
शनिबार लगभग दिनभरजसो भएको प्रदर्शनमा सो ४ सय रोपनी जमीन वरपर र उक्त वडाका विभिन्न स्थानमा नारा जुलुस सहित एमसीसी चाहिँदैन, नेपाल आमा जिन्दावाद, विदेशी हस्क्षेप मुर्दावाद, आमन्त्रित हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाइएका थिए । प्रदर्शनकै वीचमा सो स्थानमा राष्ट्रिय झण्डा गाडेर उक्त स्थानमा कुनै पनि संरचना निर्माण गर्न नदिने र निर्माण गरेमा तत्काल ध्वस्त गर्ने चेतावनी समेत दिइएको थियो ।
कार्यक्रममा एमसीसीले अधिग्रहण गरेको जग्गामा उक्त घोषणा सहित झण्डा गाड्दै उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष तथा अधिवक्ता स्वागत नेपालले सो स्थानमा उप्रान्त एमसीसीको कुनै पनि संरचना निर्माण गरिएमा तत्काल ध्वस्त बनाइने चेतावनी दिए ।
उनले सो स्थानमा अधिग्रहण गरिएका व्यक्तिहरुलाई प्रलोभन, झुक्यान र डर धाक धम्की दिएर एमसीसी पक्षधर नेता र प्रशासकहरुले जमीन अधिग्रहण गरेको कारण उक्त स्थानमा राष्ट्रिय कृषि विश्वविद्यालय, अनुसन्धानशाला वा खेलकुद स्टेडियम निर्माण गरिनु पर्ने पनि बताए ।
कार्यक्रममा स्थानीय अधिग्रहण पीडितहरुले आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरिएको पीडा रुँदै रुदै बताएका थिए । त्यसरी विचार व्यक्त गर्नेहरुमा ७० वर्षीय बालकृष्ण न्यौपानेले आफ्नो जमीन आफूलाई झुक्याएर अधिग्रहण गरिएको र सो जमीन छोडनु भन्दा आफू प्राण त्याग्न तयार भएको बताए ।
त्यसैगरी स्थानीय राममणि नेपालले पनि आफूहरुलाई एमसीसीका कर्मचारी, एमसीसीका स्थानीय जनप्रतिनिधीहरुको नाम नै उल्लेख गरेर आफूहरु एमसीसी विरुद्ध बोलेमा जे पनि गर्न सक्ने धम्की दिने गरेको बताए ।
कार्यक्रममा उनीहरुले उक्त स्थानमा एमसीसीको कुनै पनि संरचना निर्माण गर्न नदिने र प्रतिकार गर्ने बताएका थिए । सो स्थानमा प्रतिकारका लागि उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ५०० सदस्यीय एमसीसी प्रतिकार समिति पनि गठन गरेको घोषणा गरेको थियो ।
कार्यक्रममा उन्नत लोकतन्त्र पार्टीका केन्द्रीय सदस्यहरु कृष्ण प्रसाई, राम राजा आचार्य, शिवराम थापा, दुर्गा बस्नेत, नरेन्द्र कुमार शाह, अभियानका केन्द्रीय सदस्य, इन्द्र कालिकोटे, दीपेन्द्र मोक्तान, संगीता घिमिरे, मीना बस्याल, मोहन सोती, विद्यार्थी संगठनका अध्यक्ष के के थापा लगायतले एमसीसी नेपालको संविधानभन्दा माथि भई नेपाललाई कानुनी रुपमा अमेरिकी उपनिवेस बनाउने चाल भएकोले एमसीसीलाई निस्तेज बनाउन आफूले जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका थिए ।