देश छाडेका राष्ट्रपति अशरफ गनीले यूएईमा शरण लिएपछि भने, ‘म भागेको हैन’

admin

एजेन्सी, ३ भाद्र : अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई)ले बताएको छ । गत आइतबार तालिबान राजधानी काबुलतर्फ अघि बढेपछि गनीले देश छाडेका थिए । यूएईको विदेश मन्त्रालयले ‘मानवीयताका आधारमा’ गनी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ ।

बुधबार अबेर जारी गरेको एक भिडियोमा गनीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई ‘ठूलो दुर्घटना’बाट बचाउन देश छाडेको बताएका छन् । ‘रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु,’ उनले भने । ‘हाल म अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको छु ।’ फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो ‘पूर्ण रूपमा आधारहीन झुट’ भएको भन्दै अस्वीकार गरे ।

उक्त भिडियो सन्देशमा गनीले ‘आफूले जुत्ता पनि लगाउन नसक्ने अवस्थामा’ आफूलाई राष्ट्रपति भवनबाट आफ्नो सुरक्षा टोलीले सुरक्षित रूपमा बाहिर निकालेको बताएका छन् । ‘घटनाक्रम तीव्र रूपमा विकास भयो । म तालिबानसँग मिलेर एउटा समावेशी सरकार बनाउन चाहन्थेँ,’ उनले भने । गनीले आफूले तालिबान र आफ्नो प्रशासनका अधिकारीबीच भएको वार्तालाई समर्थन गरेको जनाउँदै त्यस्तो भनेका हुन् ।

यस्तै, अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन् । उनी देशका चर्चित शिक्षाविद् हुन् । उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए । अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् गनी स्वदेश फर्केका थिए ।

राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो । तर चाँडै उनलाई चाँडै रिसाउने व्यक्तिका रूपमा पनि चिन्न थालियो । उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन् । उनलाई तालिबानले सधैँ अमेरिकाको ‘कठपुतली’ का रूपमा चित्रित गर्ने गरेको छ । यस वर्षको सुरुमा बीबीसीसँग कुरा गर्दै गनीले तालिबानले सैन्य जित हासिल नगर्ने बताएका थिए ।

उनले त्यस बेला भनेका थिए, ‘यो भियतनाम होइन । यो सरकार ढल्न गइरहेको छैन ।’ सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो । तर पछि उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार आयो । त्यहाँबाट उनी यूएई पुगेका हुन् ।

यस्तै गत आइतबार देश छाडेपछि ७२ वर्षीय गनीले अफगानिस्तानका अन्य राजनीतिज्ञले उनको कडा आलोचना गरिरहेका थिए । अफगानिस्तानको राष्ट्रिय मेलमिलामसम्बन्धी उच्च परिषद्‌का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले ‘ईश्वरले उनलाई जबाफदेह बनाऊन् र देशले पनि उनलाई न्याग गर्ने नै छ ।’

सोमबारको मन्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडनले पनि देश छाडेर भागेकोमा अफगान सरकारको आलोचना गरेका थिए । बुधबार अबेर अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मनले सञ्चारकर्मीहरूसँग ‘गनी अफगानिस्तान अब कुनै व्यक्तित्त्वका रूपमा नरहेको’ बताएकी थिइन् ।

यद्यपि अमेरिकाले लगातार उनलाई ‘राष्ट्रपति गनी’ भनेर सम्बोधन गरिरहेको छ । अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानमा औपचारिक रूपमा सत्ता हस्तान्तरण नभएको भन्दै त्यसलाई जारी राखेको हो । अन्य देशबाट भागेका वा अपदस्थ भएका कुनै नेतालाई यूएईले सुरक्षित ठाउँ दिएको यो पहिलो घटना भने होइन ।

सन् १९९० ताका पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टोले पनि यूएईमा शरण लिएकी थिइन् । पछि उनी फेरि शक्तिमा फर्किइन् । तर बीबीसीका अनुसार यूएई आफ्नो भूमि राजनीतिक मैदानका रूपमा प्रयोग नहोस् भन्ने चाहन्छ । यूएईमा ठूलो संख्यामा अफगान र पाकिस्तानी कामदारहरू काम गर्छन् ।

प्रतिक्रिया