आज शेयर बजार १८ अङ्कले घट्यो

admin

काठमाडौं, ३ भाद्र : पछिल्लो तीन दिन लगातार बढेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार भने घटेको छ । नेप्से बिहीबार १८ दशमलव २४ अङ्कले घटेर तीन हजार एक सय ८० दशमलव ७८ विन्दुमा झरेको छ । पछिल्लो समय तीव्र गतिमा बढेको जलविद्युत् समूहको शेयर बिहीबार भने एक सय २३ अङ्कले घटेको छ ।

यस्तै बैंकिङ समूहको शेयर साढे १९ अङ्कले, विकास बैंकको एक सय ६२ अङ्कले, होटलको ३०, फाइनान्सको ७३ र उत्पादन समूहको शेयर १९ अङ्कले घटेको छ । बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर भने बढेको छ । बिहीबार खानीखोला हाइड्रो, ङादी ग्रुप अफ पावर र एचआईडीसीएल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

समग्र बजार घटे पनि जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्तको शेयर लगातार १६ दिन १० प्रतिशतका दरले बढिरहेको छ । बिहीबार दुई सय २९ कम्पनीका तीन करोड नौ लाख कित्ता शेयर २० अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण काबेली र अरुण भ्याली जलविद्युत् कम्पनीको शेयर एक अर्ब १६ करोड रुपैयाँका दरले किनबेच भएको छ ।

प्रतिक्रिया