नेपालसँग कुवेतले सिधा उडान पुनः सुरु गर्ने, भेरोसेल खोप लगाएकालाई पनि प्रवेशमा अनुमति

admin

काठमाडौं, ३ भाद्र : कुवेतले नेपालसँगको सिधा उडान पुनः सुरु गर्ने भएको छ । कोरोना संक्रमण रोकथामका लागि भन्दै नेपाल, भारत लगायतका देशसँगको सिधा उडानमा लगाएको प्रतिबन्ध खुला गर्दै कुवेतको मन्त्रीपरिषद्ले पुनः सिधा उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अगष्ट १ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको कुवेतले कहिलेदेखि यो नियमित उडान सुरु गर्ने भनेर मिति भने खुलाएको छैन । अगष्ट १ देखि खोप लगाएका आप्रवासीलाई प्रवेश अनुमति दिने निर्णय गरे पनि कुवेत प्रवेश गर्नका लागि ग्रिन जोनमा रहेका तेस्रो देशमा क्वरेण्टीनको अवधि पुरा गर्नुपर्ने नियम थियो ।

कुवेतमा नेपाली आप्रवासी श्रमिकको संख्या पनि ठुलो संख्या भएको भन्दै उनीहरूको आवतजावतमा सहजताका लागि यस्तो निर्णय लिएको कुवेतले जनाएको छ । यस्तै, कुवेतको मन्त्री परिषद्ले कुवेतले मान्यता नदिएको कोरोना विरुद्धको खोप लगाएका आवासीय भिसा भएकाहरूलाई पनि कुवेत प्रवेश गर्न दिने निर्णय गरेको छ ।

कुवेत सिनो फार्म (भेरोसेल) सिनोभ्यास र स्पुतनिक भी खोप लगाएका नागरिकलाई पनि कुवेतले प्रवेश अनुमति दिने छ । कुवेतले फाइजर, बायोएनटेक, अक्सफोर्ड अस्ट्राजेनेका, मोर्डना र जोन्सन एण्ड जोन्स खोपलाई मान्यता दिएको छ ।

प्रतिक्रिया