अहिलेको सरकार हामीले गरेको विकास भत्काउन आएको हो, हामीसँग देशभर बहुमतको सरकार छ : अध्यक्ष ओली

admin

काठमाडौं, ४ भाद्र : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफूलाई अहङ्कारी भन्नु उनको कमजोरी निराधार आरोप भएको बताएका छन् । (हिजो) बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालमाथि आरोपै आरोप लगाएका छन् ।

ओलीले माधवकुमार नेपालले लामो समय पार्टीको नेतृत्व गरेको तर त्यस क्रममा पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुगेको बताएका थिए । माधवकुमार नेपालको कार्यकालमा एमाले सडक र संसद दुवै मोर्चामा खुम्चिएको ओलीको भनाइ छ । माधवकुमार नेपाल पार्टीको नेतृत्वमा रहँदा होस् वा सरकारको नेतृत्वमा रहँदा होस्, पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको उनले बताए ।

माधवकुमार नेपालको एकमात्र उद्देश्य एमाले फुटाउनु नै रहेको ओलीले बताए । आफूले एकताका लागि बारम्बार प्रयास गर्दा पनि माधव नेपालले पार्टी फुटाउने उद्देश्य राखेकै कारण एकताको प्रयास सार्थक हुन नसकेको उनले प्रस्ट पारे । माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशसभामा एमालेको बहुमत हुँदा हुँदै माओवादीलाई काँधमा बोकेर सरकारको नेतृत्व सुम्पिएको ओलीको आरोप छ ।

कर्णाली प्रदेशमा आफ्नो पार्टीको प्रस्ट बहुमत हुँदाहुँदै पनि माधवकुमार नेपालले नै एमालेका चार सांसदलाई फ्लोर क्रस गराएर एमालेको सरकार बन्न नदिएको आरोप उनले लगाए । एमालेले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार उठाउँदा माधवकुमार नेपालले विपक्षीसँग साँठगाँठ गरेर अर्को उम्मेदवारलाई जिताउने भूमिका निर्वाह गरेको भन्दै ओलीले एमालेकै नेतृत्वमा रहेको संघीय सरकारलाई पनि अनेक ढंगले विस्थापित गर्न भूमिका निर्वाह गरेको आरोप माधवकुमार नेपालमाथि लगाए ।

‘नेकपा एमालेको सरकार प्रतिगामी हो, एमालेको सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाइ पाउँ भनेर राष्ट्रपतिकोमा हस्ताक्षर गरेर जाने,’ माधवकुमार नेपालमाथि आरोप थप्दै ओलीले भने, ‘सर्वोच्च अदालतमा पनि ओलीको सरकार अपदस्थ गरिपाउँ, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरिपाउँ भनेर जाने ।’

यसका बाबजुद आफू पार्टी एकता कायम राख्नका लागि वार्ता समिति बनाउँदै गरेको, कार्यदल बनाउँदै गरेको, के के चाहियो भनेर उनीहरुसँगै सोध्दै गरेको भन्दै ओलीले आफ्ना हरेक प्रयास बाबजुद पार्टी एक ढिक्का राख्न नसकेको बताए । सरकारले एमाले फुटाउन कै लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र यस क्रममा माधवकुमार नेपालसँग कति प्रतिशत सांसद र केन्द्रीय सदस्य छन् भन्ने हिसाब गरेर अध्यादेशमा पनि दल विभाजनका लागि सोही अनुसारको प्रतिशत उल्लेख गरिएको ओलीले बताए ।

ओलीले आफूले माधव नेपालको कुभलो कहिल्यै नसोचेको तर नेपालले भने केन्द्रदेखि प्रदेशका सरकार ढाल्ने, एमाले र आफूविरुद्ध षड्यन्त्र गर्ने लगायतका काम गरेको आरोप लगाए । आफूले कैयौँ पटक भेटेर कुरा गरौँ भन्दा पनि नेता नेपालले भेट्नै नचाहेको ओलीको गुनासो थियो ।

‘मैले माधव नेपाललाई भेटौँ भन्दा भेट्दिनँ भने, कम्तीमा दुई वर्ष भयो होला माधव नेपालले फोन गरेका छैनन्, मैले लगातार फोन गरिरहेको छु, कुरा गरिरहेको छु, उहाँले म बालुवाटार आउँदिन भन्दा म आफैँ ठाउँ-ठाउँका होटलमा गएर भेटेँ’, ओलीले भने । कार्यक्रममा ओलीले माधवकुमार नेपाल पार्टीको नेतृत्वमा रहँदा, सरकारको नेतृत्वमा रहँदा पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको लगायतका आरोप पनि लगाए ।

यस्तै अध्यक्ष ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवम् सांसदलाई एमालेमा फर्कन आह्वान गरेका छन् । उक्त कार्यक्रममा उनले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नाम लेखाएकालाई नाम काटेर एमालेको मूल प्रवाहमै फर्कन आह्वान गरेका हुन् । उनले भने, ‘यो देश बनाउने जिम्मा अहिले पनि एमालेकै काँधमा छ, त्यसैले पदको लोभमा त्यता बस्नुपर्दैन, माधव नेपालसँग नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराएका साथी नाम कटाएर पार्टीमा आउनुस्, कुनै पक्षपात नगरि पार्टीमा जिम्मेवारी दिन्छौँ, जिम्मेवारी सम्हाल्नुस् ।’

अध्यक्ष ओलीले आफूहरू सत्तापक्षमै रहेको दाबी गर्दै भने, प्रदेश र पालिकामा एमाले बहुमतमा छ, देशभरको सरकार हेर्दा एमाले सरकारमै रहेको प्रष्ट हुन्छ, प्रदेश र पालिकामा एमालेले बहुमतको सरकार चलाइरहेकाले एमाले प्रतिपक्ष मात्र नभएर अझै सत्तापक्षमै छ । यसैगरी सोही क्रममा अध्यक्ष ओलीले आफु नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको दावी गरेका थिए । सो कार्यक्रममा बोल्दै ओलीले आफ्नो कार्यकालमा एकैदिन ३ सय ९६ वटा अस्पताल शिलान्यास गरेको दावी गरे ।

उनले निःशुल्क कोभिड परिक्षण गरेको, निःशुल्क कोभिड खोप दिएको बताए । हरेक पालिकाहरु १० देखि १५ बेडको अस्पताल बनाएको दावी गरे । आफूले पहिलोपटक रानीपोखरी शिलान्यास गर्दा जहाँ इटा राखेको अर्कोपटक प्रधानमन्त्री भएर आउँदा पनि त्यही इटा राखेको देखेर पुनर्निर्माण गरेको, धरहरा निर्माण गरेको, धरहरामा पार्किङ क्षेत्र बनाएको, मर्निङ वाक गर्ने बाटो बनाएको, देशमा विभिन्न भागमा ठूला ठूला स्कूल बनाएको दावी गरे ।

उनले आजभोली पहाडमा कतैपनि खरको छानो नभएको बताउँदै गरिब जनताका लागि घर बनाएर दिएको बताए । अध्यक्ष ओलीले अहिलेको सरकार बनाउन भन्दापनि अघिल्लो सरकारले गरेको विकासको काम भत्काउन आएको दावी गरे । आफ्नो सरकारले भूमिहीनका लागि बनाएको आयोग अहिलेको सरकारले भत्काउने काम गरेको उल्लेख गरे । ‘माधव नेपालले कहिल्यै सुखी नेपाली, समृद्ध नेपाल भनेको सुन्नुभएको छ ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सकार विकास विरोधी रहेको बताएका छन् । उनले आफुले सरकारको नेतृत्व गर्दा पार्टीभित्र नै बिरोधी खडा भएको भन्दै आफुले देश र जनताका लागि अभूतपूर्व विकासका काम गरेको दावी गरे । उनले माधव नेपाल नै विकास विरोधी रहेको बताउँदै प्रश्न गरे–‘माधव नेपालले कहिल्यै सुखी नेपाली, समृद्ध नेपाल भनेको सुन्नुभएको छ ?’

उनले विकासको नयाँ अभियान सुरु गर्दा माधव नेपालले काँधमा काँध मिलाएर हिँड्न नसकेको उल्लेख गरे । अध्यक्ष ओलीले अहिले बालबालिकालाई सडकमा राखेर ‘खाते’ हुन नदिएको बताए । उनले अहिले सडकमा बालबालिका र सडक मानव नरहेको बताउँदै उनीहरुको आफू नेतृत्वको सरकारले व्यवस्थापन गरेको बताए ।

प्रतिपक्ष मात्रै हैनौं, देशभर बहुमतको सरकार छ !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको बताएका छन् । बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताए । उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए ।

उनले भने- ‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ ।’ उनले देशको विकास मात्रै एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह गरे । यस्तै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले जुम प्रविधिको सुरु गरेको दाबी गरेका छन् ।

सिङ्गापुरमा उपचारका क्रममा गएका बेला जुम प्रविधिबाट मन्त्रिपरिषदको बैठक राखेर आफूले यसको सुरुवात गरेको उनको दाबी थियो । आफूले सुरु गरेको प्रविधिबाट अहिले अनलाइनबाटै सभा छलफल गर्न सम्भव भएको दाबी गरे । उनले भने– ‘अन्तर्राष्ट्रिय सम्मेलनमा त्यहीँबाट सहभागी हुने प्रणाली हामीले सुरु गर्यौं। कसको जमिन कस्तो छ भनेर अनलाइनबाटै माटो परीक्षण गर्ने प्रणाली सुरु गर्यौं । मेरो कित्ता भन्ने अनलाइनबाटै जग्गाको बारेमा थाहा पाउने प्रणाली विकास गर्यौं ।’

उनले जुम प्रणाली सुरु नगरेको भए बालबालिकाको पढाइ प्रभावित हुने बताउँदै विद्यार्थीहरुले अहिले मोबाइल फोनबाटै पढ्न पाएको दाबी गरे । उनले त्यो समयमा अनलाइन विधिबाट पढ्ने कुराको सुरु नगरेको भए विद्यार्थीले अनलाइनबाट पढ्न नपाउने दाबी गरे । जुम एप्लिकेसनको सुरुवात एरिक युआन हुन् । उनले २०१९ को अप्रिलदेखि यसको सुरुवात गरेका थिए ।

प्रतिक्रिया