नेटोमा काम गरेका सेना र पूर्व अफगान सरकारमा काम गरेका सैनिकको घर-घरमा तलासी

admin

एजेन्सी, ४ भाद्र : हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार काबुलको राज्यको गुप्तचर संस्था एनडीएसका लागि काम गर्ने अफगानीको अनुसन्धान गर्न घर-घर गएर तलासी लिइँदैछ । केही दिन अघि मात्रै अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान लडाकुहरुले नेटोमा काम गरेका सेना र पूर्व अफगान सरकारमा काम गरेका सैनिकको घर-घरमा गएर तलासी गर्ने कार्य तीब्र बनाएका छन् ।

अफगानिस्तानमा तालिबानले बुधबार कंधार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले दाबी गरेको छ । पत्रिकाका अनुसार चरमपन्थी दूतावासमा लगाइएको ताल्चा फोडेर भित्र घुसेका थिए । तालिवान लडाकुहरु लक्षित समूहको खोजी गर्दै घर घरमा तलासी गर्ने गरेको र उनीहरुका परिवारलाई धम्की दिने जस्ता कार्य गरिरहेको भन्दै संयुक्त राष्ट्र संघले सचेत गराएको छ ।

संयुक्त राष्ट्र संघको प्रतिवेदनमा सो पछिल्लो घटना क्रमको अध्ययनपछि सो कुरा उल्लेख गरिएको हो । कट्टरपन्धी इस्लामिक समूह तालिवानले यस पटक आफूहरु पहिलेभन्दा परिवर्तन भएको आश्वस्त पार्ने प्रयास गरिरहेका छन् । उनीहरुले कसैलाई पनि बदला नलिने भनेर यस अघि नै घोषणा गरिसकेका छन् । तर सन् १९९० मा तालिवानको बर्बरता सहेका अफगानीहरुलाई उनीहरु सुध्रिएकोमा अझै पनि आशंका छ ।

तालिवानहरुको कालोसूचीमा परेकाहरु गभ्भीर खतरामा रहेको र उनीहरु गिरफ्तारीमा पर्ने, मुद्दा चलाउने मात्र नभई सामूहिक हत्या हुनसक्ने अनुमान गरिएको छ । कंधार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुबै दूतावासमा राखिएका गाडी लिएर गएको जानकारीमा उल्लेख छ । यस्तै जलालाबाद र काबुलको वाणिज्य दूतावासमा के भइरहेको छ यसको जानकारी उपलब्ध छैन ।

रिपोर्टका अनुसार हक्कानी नेटवर्कका करिब ६० हजार लडाकूले राजधानी काबुललाई कब्जामा लिएको छ । यसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन् जो हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ हुन् । अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजाई र एचसीएनआरका प्रमुख अब्दुल्ला अब्दुल्लासँग भेटघाट गरेका छन् ।

यसले यो पनि बताउँछ कि करजई र अब्दुल्लाको गतिविधिमा तालिबानको प्रतिबन्ध र नियन्त्रण छ । करजई र अब्दुल्लासँग तालिबानका नेता मुल्ला अब्दुल गनी बरादरलाई राष्ट्रपति निवासमा एक कार्यक्रमका बेला औपचारिक रुपमा सत्ता सुम्पिने हो कि भन्ने विषयमा कुराकानी चलिरहेको छ । सिराजुद्दीन हक्कालीले क्वेटाबाट निर्देशन जारी गर्ने बताइएको छ ।

प्रतिक्रिया