एन्फाद्वारा ‘सी’ डिभिजन फुटबलकाे छनोट खेल तालिका सार्वजनिक

admin

काठमाडौं, ५ भाद्र : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले हिजाे सातदोबाटोमा कार्यक्रम आयोजना गरि खेल तालिका सार्वजनिक गरेको हो ।

यही भदौ १० गतेदेखि काठमाण्डौ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब खेल्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ ।

‘सी’ डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । याे लिग आउँदाे कात्तिक ८ गतेसम्म चल्ने छ । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ । प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् ।

समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । एन्फा लिग संयोजक विज्ञानराज शर्माले छनोटमा क्लबको सहभागिता उल्लेख्य रहेको बताउनुभयो ।

उहाँले अर्को वर्षदेखि पायक पर्ने प्रदेशमा नै छनोट खेल खेलाउने जानकारी दिनुभयो । छनोट प्रतियोगितामा वाग्मती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुई/दुई क्लब रहेका छन् ।

प्रतिक्रिया