कोरोनामुक्त हुनेको संख्या सात लाख नाघ्यो, थप २४ जनाले ज्यान गुमाए

admin

काठमाडौं, ७ भाद्र : नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख नाघेको छ । बितेको २४ घण्टामा एक हजार नौ सय २४ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ९७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

दैनिक विवरणअनुसार (आज) सोमबार तेस्रो दिन पनि कोरोना भाइरसको संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढी छ । बितेको २४ घण्टामा एक हजार आठ सय एक जनामा संक्रमण पुष्टि भएको छ । आठ हजार सात सय चार जानको पीसीआर र दुई हजार ६ सय २२ जनाको एन्टिजेन गरी ११ हजार तीन सय २६ जनाको नमुना परीक्षण गर्दा एक हजार आठ सय एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो परीक्षण गरिएका नमुनामा १५ दशमलव नौ प्रतिशत हो । पछिल्लो तीन दिन संक्रमण दर पनि घटेको छ । सोमबार थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख २९ हजार चार सय ४३ पुगेको छ । यसमध्ये ८० हजार चार सय ६२ जनाको नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको हो ।

मन्त्रालयले एन्टिजेन विधिबाट भएका परीक्षणमा निको हुनेको संख्या देखाउने गरेको छैन । यही अवधिमा थप २४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार पाँच सय ३३ पुगेको छ । अहिले नेपालमा ३८ हजार तीन सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया