नेता नेपाल भन्छन्, अब वार्ता र सहमतिको सम्भावना सकियो, ‘महँगो रिसोर्टमा बसेर अन्तरिम विधान र घोषणापत्र वितरण’

admin

काठमाडौं, ८ भाद्र : नेता माधवकुमार नेपालले नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढेकाले वार्ता र सहमतिको सम्भावना सकिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले अब वार्ता र सहमति हुन नसक्ने बताएका हुन् । उनले यसअघि पटक-पटक बेइमानी भएको भन्दै अब हल्ला र भ्रमको पछाडि नलाग्न नेता र कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामा छ । निर्वाचन आयोगले सनाखतका लागि (भोलि) बुधबारका लागि बोलाएको छ । (हिजो) सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले विवाद समाधान गर्न गठित कार्यदलका नेताहरुबीच १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको थियो ।

एमालेका अध्यक्ष ओलीले मंगलबार स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक ललितपुरमा रहेको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्दैछ । यस्तै एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई सुरक्षित राख्न महँगो रिसोर्टमा लगेर राखेका छन् । सोमबार उनले आफू पक्षका केन्द्रीय सदस्य र सांसदलाई काठमाडौंको चन्द्रागिरि हिल्स रिसोर्टमा पुर्‍याएका हुन् ।

नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूको मन नभाडियोस् भनेर उनीहरुलाई महँगो रिसोर्टमा लगिएको बुझिएको छ । नेपाल पक्षका केन्द्रीय सदस्यहरुले भने दर्ता प्रक्रियामा रहेको पार्टीको छलफल र योजना बनाउन रिसोर्टमा भेला भएको बताएका छन् । नयाँ दल गठनप्रति असन्तुष्ट तेस्रो धारका एमाले नेताहरू एकताको पक्षमा उभिएकाले नेता नेपालले आफू पक्षका केन्द्रीय सदस्य र सांसदलाई रिसोर्टमा राखेका हुन् ।

एमालेका तेस्रो धारका नेताहरु र अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएकै दिन तेस्रो धारका नेताहरूले सांसद र केन्द्रीय सदस्यलाई प्रभावित पार्न सक्ने जोखिम देखेर नेपालले आफू निकट नेताहरूलाई रिसोर्ट पुर्‍याएको संस्थापन पक्षका एक नेताले बताए । यस्तै प्रस्तावित नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् ।

नेपालले गएराति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै त्यहाँ उपस्थित ४६ जना केन्द्रीय सदस्यहरुलाई पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको हो । नेपालले ओलीले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेक चालबाजी र नाटक गरे पनि एकता अगाडि बढ्न नचाहेको पनि बताएका छन् ।

प्रतिक्रिया