पार्टी फुटबाट जोगाउन नसकेकोमा दुःखी छु, सरकारले प्रतिपक्षी पार्टी फुटाउने अनैतिक काम गर्‍यो : अध्यक्ष ओली

admin

काठमाडौं, ९ भाद्र : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको बताएका छन् । बुधबार विशेष पत्रकार सम्मेलनमा उनले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताए । अध्यादेशप्रति ओलीले व्यंग्य समेत गरे । संसदले काम नगरेको भन्दै उनले आलोचना पनि गरे ।

पुस ५ मा आफ्नो नेतृत्वको सरकार संसद विघटन गर्दा संसदलाई काम गर्न दिएन भनेर आरोप लगाउनेले संसदबाट के गरे भनेर उनले प्रश्न गरे । उनले जनादेशबाट नभइ परमादेशबाट सरकार बनाउने, शक्ति सन्तुलनको सिद्धान्त खल्बल्याउने र नागरिकले मूल्यांकन गर्न नपाउने अवस्था बन्दै गएको आरोप पनि लगाए । अध्यक्ष अध्यादेश जारी गर्नु आफैमा असंवैधानिक नहुने बताएका छन् ।

ओलीले आफ्नो कार्यकालमा ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशका बारेमा धेरै भिन्नता रहेको दाबीसमेत गरे । आफूले देश र जनताको हितका लागि, सांसदहरुको अधिकार रक्षाका लागि संविधानको मर्म अनुसार नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको ओलीको भनाइ थियो । शेरबहादुर देउवा नेतृत्वले ल्याएको अध्यादेश ‘देश जोगाउनका लागि’ भनिएको प्रति उनले आपत्ति जनाए ।

संविधानले सांसदलाई दिएको अधिकार व्यवहारिक अर्थमा कार्यान्वयन हुन सकोस् भनेर आफूले अध्यादेश जारी गरेको जिकिर गर्दै उनले कुनै पार्टी विशेषलाई फुटाउने उद्देश्यका साथ त्यो बेला अध्यादेश नल्याइएको दाबी गरे । उनले अध्यादेश ल्याउने प्रक्रिया प्रस्ट पार्दै अगाडि भने, ‘अध्यादेश ल्याउनु अघि विधेयक ड्राफ्ट गर्नुपर्छ, कानुन मन्त्रालयमा मस्यौदामा जानुपर्छ, त्यसमा मन्त्रालयले सहमति दिनुपर्छ । संसद नचलेको बेला देश, जनताका लागि अत्यावश्यक परेमा अध्यादेशबाट पनि अघि बढ्नुपर्ने हुन्छ ।’

कुनै दललाई फुटाउन, कसैलाई सजिलो पार्नका लागि अध्यादेश ल्याउने क्रममा नै राजनीतिक दल सम्बन्धी अध्यादेशमा ‘केन्द्रीय सदस्य वा संसदीय दलको २० प्रतिशत’सम्बन्धी प्रावधान राखिएको उनको दाबी छ । उनले व्यङ्ग्य गर्दै भने, ‘माधव नेपालजीसँग जति सांसद हुनुहुन्छ, त्यति भए पुग्ने भनेर लेखेको भए सजिलो हुन्थ्यो ।’ उक्त पत्रकार सम्मेलनमा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफ्ती रिसोर्टमा लगेर राखेको भन्दै यसलाई ‘अपहरणकारी ज्यादतीपूर्ण’ कामको संज्ञा दिए ।

‘बैठक कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’ भन्ने प्रश्न गर्दै उनले नेताहरुलाई घेराबन्दी गरेर घर-घरबाट लगेर राखेको दाबी गरे । यस्तै ओलीले अनुकूल समयमा पार्टीमा जिम्मेवारी हस्तान्तरण गर्ने पनि बताए । अध्यक्ष ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्ने सन्दर्भमा सभामुखले सूचना टाँस नगरेको भन्दै उनले कटाक्ष गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यादेश अनुसार एमाले विभाजन गराउने प्रयोजनकै निम्ति यस प्रकारको गतिविधि भएको आरोप पनि लगाएका छन् । आफूहरुले पार्टी नफुटोस् भनेर १४ सांसदलाई कारवाही गरेको तर कारवाहीमा परेका ती सांसद लगायतको संख्या जोडेर अध्यादेशअनुसार दल विभाजन गराउनका लागि नै सभामुखबाट उनीहरु पदमुक्त भएको सूचना जारी नगरिएको उनको आरोप छ ।

‘लेखराज भट्टजीहरुलाई कारवाही गर्दा माओवादीको केन्द्रीय कमिटीले निर्णय गरेको होइन,’ सभामुखतिर लक्षित गर्दै उनले भने, ‘नेकपा एमालेले गरेको कारवाही ९ दिनसम्म थन्क्याएर दाँत टाल्न जानुभयो । मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस् ।’ यसअघि भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा पनि ओली सभामुखमाथि खनिएका थिए ।

निर्वाचन आयोगले संसद सचिवालयसँग १४ जनाको बारेमा जानकारी माग्दा ‘विचाराधीन रहेको’ भनेर आयोगलाई जवाफ दिइएको सन्दर्भमा पनि उनले बुधबारको पत्रकार सम्मेलनमा आपत्ति जनाए । पार्टीले कारवाही भएको जानकारी गराइसक्दा पनि ती सांसदलाई पदमुक्त नगर्नु बेइमानी भएको ओलीको भनाइ छ । उनले निर्वाचन आयोगलाई पनि सशरीर उपस्थित नभएको व्यक्तिहरुलाई सनाखत प्रक्रियामा सामेल नगर्न सुझाव दिए ।

अध्यक्ष ओलीले माधव नेपालप्रति कटाक्ष पनि गरेका छन् । उनले एमाले फुटाउन सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए । ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ ।

उनले रिसोर्ट वा चाहे फइभस्टारमा होटलमै राखेको भएपनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर दावी गरे ।ओलीले त्यसरी सांसदहरुलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरुले प्रचार गरेको भन्दै वास्तवमा त्यो कुनै पार्टी कमिटीको बैठक नभएको दावी गरे । यस्तै अध्यक्ष ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुखी रहेको बताएका छन् ।

सोही पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अनेकौँ कोशिस गर्दागर्दै पनि बचाउन नसकेको र पार्टी फुटेकोमा आफू दुःखी भएको बताएका हुन् । ‘मेरो समयमा पार्टी प्रमुख भएकाले मैले बचाउने कोशिस गर्दागर्दै पनि पार्टी बचाउन नसकेकोमा दुःखी छु’, ओलीको भनाइ छ । उनले आफुले पढाएका सवै विद्यार्थी डिस्टिङसन ल्याउन भन्ने भएपनि केही विद्यार्थी फेल हुन स्वभाविक भएको बताए ।

‘मैले पढाएका विद्यार्थी सय प्रतिशत ल्याउन भन्ने चाहान्छु तर कोही कोही फेल भए’, ओलीले माधव नेपाल समूहप्रति लक्षित गर्दै भने, ‘केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गए ।’ सोही क्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले देशको समय वर्वाद पारिरहेको र गफले मात्रै मेलम्चीको पानी नआउने बताएका हुन् ।

‘मेरो सरकारले मंसिर पुसमा मेलम्चीको पानी आउँछ भनेको थियो र काम पनि गरिरहेको थियो । तर यो सरकारले बैशाखमा मेलम्चीको पानी आउँछ भनेको छ’ उनले देउवा सरकारले गफमात्रै गरेको गफले पानी नआउने बताए । उनले भने, ‘गफले पानी आउदैन ।’

प्रतिक्रिया