काठमाडौं, ९ भाद्र : निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले दिउँसो २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरूले सनाखत गरेका हुन् ।
नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य संख्याको ३३ प्रतिशत हो । यस्तै राष्ट्रिय सभाका तीन र प्रतिनिधि सभाका ३४ गरी ३७ सांसदमध्ये १५ जना अर्थात् झण्डै ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ ।
त्यस पार्टीका दुई सांसद भने अहिले निलम्बित छन् । प्रस्तावित पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतोलाई प्रस्ताव गरिएको छ । पार्टीमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरि नामावली बुझाइएको छ । पार्टीको चुनाव चिह्न भने साइकल प्रस्ताव गरिएको छ ।
सनाखतपछि पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा ठाकुरले कानुनी मान्यताका लागि सनाखत गर्न आयोगले बोलाएको समयमै उपस्थिति भएर सनाखत गरेको जानकारी दिए । उनले दर्तापछि नयाँ पार्टीलाई सशक्त लोकतान्त्रिक शक्तिको रूपमा अघि बढाउने जानकारी दिए । सरकारले अहिले ल्याएको अध्यादेशमा दल विभाजन हुन केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे हुने प्रावधान रहेको छ ।