एन्फा विवाद : ‘प्रशिक्षक अलमुताइरीले बानी सुधार गर्नुपर्छ’

admin

काठमाडौं, ९ भाद्र : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानबिन समितिले आज बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।

१४ दिन लामो छानबिन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्णकेशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् ।

समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल सङ्घ एसियाली फुटबल महासङ्घकाे नियमअनुसार चल्न नसकेको, आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने बताइएकाे छ ।

कार्यक्रममा प्रतिवेदन बुझेपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताउनुभयो । उहाँले विवाद समाधान गर्न दुवै पक्षसँग छुट्टा–छुट्टै पहल भए पनि समाधान हुन नसकेको बताउनुभयो । छानबिन भइसकेको अवस्थामा परिषद्ले दिएको निर्देशन एन्फाले अक्षरशः पालना गर्नुपर्ने सदस्य सचिव सिलवालको भनाइ छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणापछि एन्फा विवाद बाहिर आएको थियो । जसलाई समाधान गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो ।

प्रतिक्रिया