Home

शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा, प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य

admin

काठमाडौं, १० भाद्र : शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन् । प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् । प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् ।

‘पार्टी एकतालाई बचाउन मैले राजीनामा दिएको हुँ । हामीले आचार्यजीलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेका छौँ,’ पत्रकारसँग कुरा गर्दै राईले भने, ‘विभाजन र पार्टी एकताको सर्वोत्तम कुरालाई ध्यानमा राखेर परिस्कृत परिस्थितिलाई सामना गर्ने, नेकपा एमालेको प्रभाव र वर्चश्वलाई जस्ताको तस्तै कायम राख्ने सरकारलाई सुरक्षित तरिकाले अगाडि बढाउने तमाम कुरालाई ध्यानमा राखेर मैले राजीनामा गरेको हुँ।’

एमाले विभाजनपछि प्रदेश १ को संसदीय दलको बैठक बिहीबार पहिलो पटक बसेको हो । माधव कुमार नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि भीम आचार्यलाई बिहीबार नै मुख्यमन्त्री बनाइँदैछ । माधव नेपाल पक्षका आचार्यसँगै बलबहादुर साम्सोहाङ, होमकुमारी सावा, जीवन घिमिरे, लक्ष्मण तिवारी, लिलाबल्लब अधिकारी, यसोधा अधिकारी र साबित्री जोशी एमालेमै खुलेका छन् ।

यस्तै प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम नै आचार्य चयन भएका छन् । बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।

बिहान संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाई भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो । वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । उनी (आजै) बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई बिहीबार नै प्रदेश प्रमुखले शपथ खुवाउने छन् ।

प्रतिक्रिया