काठमाडौं, १० भाद्र : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली कम्युनिस्ट आन्दोलन र सिद्धान्तबाट धेरै पर पुगिसकेको आरोप लगाएका छन् । काठमाडौंमा बिहीबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले भ्रष्ट र बिचौलियाको सङ्गतमा लागेर कम्युनिस्ट सिद्धान्तबाट विचलित भइसकेको बताए ।
नेता नेपालले पहिले आफ्नो पक्षमा रहेका नेताहरू अहिले ओली पक्षमा गएकोमा दुःख नलागेको बताए । अहिले आफ्नो साथ छाडेकाहरूले केही समयअघि नै निर्वाचन आयोगमा छुट्टै दल दर्ता गरेको दाबी गर्दै अध्यक्ष नेपालले कुनै दिन ओली समूहमा लागेकोमा पछुतो लागेमा फेरि फर्कने पनि बताए ।
‘कोही बीचैमा थाक्दा रहेछन्, आँट घट्दो रहेछ । थाक्ने थाकिरहन्छन्, अगाडि बढ्नेहरू र क्रान्तिकारी दिशामा पार्टीलाई लैजान चाहनेहरू अघि बढिरहन्छन् । अब छुटेका र छुट्न चाहेका साथीको कुरा नगरौँ, हामी क्रान्तिकारी ढङ्गले अघि बढ्ने बाटोमा लागिसक्यौँ’, अध्यक्ष नेपालले भने ।