हामीले कस्ता-कस्ता तानाशाहलाई त ढालेका छौँ : नेता सिंह

admin

काठमाडौं, १० भाद्र : सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । बिहीबार नेपाल महिला सङ्घ काठमाडौंले मंगलादेवी सिंहको २५औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरूलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताएका हुन् ।

उनले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरूलाई मात्रै नीति, नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताए । नेता सिंहले सभापति देउवाले जान्दा जान्दै पनि हरेक चार वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको बताए । नेता सिंहले क्रियाशील सदस्यता छानबिनमा पनि व्यापक धाँधली भएको बताए ।

उनले नेपाली कांग्रेस जस्तो डेमोक्रेटिक पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्ने बताए । नेता सिंहले आफ्नी आमा तथा महिला हकहित कर्मी स्व. मंगला सिंहले महिला मुक्ति आन्दोलनमा नेपाली महिलाहरूलाई पुरुषसरह नै अधिकार दिनुपर्छ भनेर लडेको स्मरण गर्दै महिलाहरूले आफ्नो हकहितका लागि अझै लड्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया