ओमान प्रवेशको लागि सेप्टेम्बरदेखि यी नयाँ नियम लागू

admin

काठमाडौं, ११ भाद्र : ओमान प्रवेशको लागि नयाँ नियम लागू हुने भएको छ । सेप्टेम्बरदेखि ओमानमा भिसा नवीकरण गर्नको लागि कोरोना विरुद्धको खोपको एक मात्रा लगाएको हुनुपर्नेछ भने अक्टोबरदेखि भिसा नवीकरणको लागि खोपको दुवै मात्रा लगाएको हुनुपर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ओमानमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च कमिटीको बैठकले भिसा, खोप लगायतका विषयमा नयाँ निर्णय गरेको हो । यस्तै २०२१ को जनवरी देखि जारी गरिएका भिसाको म्याद पनि डिसेम्बरसम्मको लागि निःशुल्क थप्न सकिने छ । ओमानमा रहेको नेपाली दूतावासका अनुसार नेपालमा रहेकाहरुले आरओपीको वेबसाइटबाट नवीकरण गर्न सक्नेछन् ।

ओमान बाहिर बसेको ६ महिना भन्दा बढी अवधि भएको छ भने रोजगारदातामार्फत आरओपी कार्यालयमा सम्पर्क गर्नुपर्ने दूतावासको सूचनामा उल्लेख छ । यस्तै सेप्टेम्बरदेखि ओमान प्रवेश गर्ने यात्रुहरुले त्यहाँको सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा जोनसन एण्ड जोनसन बाहेक लगाएको हुनुपर्नेछ । अन्तिम खोप यात्रा गर्नुभन्दा कम्तीमा १४ दिन अगाडि लगाएको हुनुपर्ने छ ।

ओमानले फाइजररबायोनटेक, अक्स्फोर्डरअस्ट्राजेनेका, गमालेया स्पुतनिक भी, मोडेर्ना, कोभिसिल्ड (भारतमा बनेको), सिनोभ्याक (कोरोनाभ्याक), सिनोफार्म (भेरोसेल) र जोनसन एण्ड जोनसन गरि आठ कम्पनीका खोपलाई मान्यता दिएको छ । यस्तै यात्रा गर्नुपूर्व सबै यात्रुले ट्यारासुद प्लस मोबाइल एप डाउनलोड गरि आफ्नो अन्य विवरण लगायत क्यूआर कोडसहितको खोप लगाएके प्रमाण तथा पीसीआर प्रमाण पत्र समेत अपलोड गर्नुपर्ने दूतावासले जनाएको छ ।

यस्तै उडान पूर्व ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट हुनुपर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ भने पीसीआर नेगेटिभ भएकाहरुले क्वरेण्टीन बस्नुपर्ने छैन । कम्पनीको क्वरेण्टीन सम्बन्धी व्यवस्था नभएकाहरुले एक महिनाको मान्यता भएको अन्तर्राष्ट्रिय कोरोना यात्रा बिमा गरेको हुनपर्नेछ । ओमानमा रहेका नेपालीलाई यी विषयमा केही बुझ्नुपरेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ र २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया