काठमाडौं, ११ भाद्र : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदो निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधिले शुक्रबार नयाँ बानेश्वरमा रहेको एक बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आउँदो चुनावमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।
उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पारे । आफू कसैलाई ‘रिटायर्ड’ गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उनले कांग्रेसलाई बलियो बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र नागरिकसँग जोड्न आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे ।
उपसभापति निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए । आफूहरू सङ्घीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा नागरिकलाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रूपमा प्रष्ट र प्रतिबद्ध बनाएर लैजानुपर्ने बताए ।
उपसभापति निधिले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रूपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए । उनले कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको बताए ।