काठमाडौं, १३ भाद्र : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिष विद्यामा निकै विश्वास गर्छन् । प्रधानमन्त्री नियुक्त भएको ४८ दिन बितिसक्दा पनि मन्त्रीपरिषदले पूर्णता पाउन सकेको छैन् ।
ज्योतिषी विद्याका कारण ४८ दिनसम्म मन्त्रीपरिषद विस्तार नभएको बालुवाटार श्रोतको भनाई छ । श्रोतको अनुसार सोमबार वा मंगलबार मन्त्रीपरिषद विस्तारका लागि उत्तम साइत रहेको छ । त्यही साइतमा मन्त्रीपरिषद विस्तार हुने बताइएको छ । यसअघि देउवाको ग्रहनक्षेत्रका आधारमा मन्त्रीपरिषद् विस्तार गर्दा अशुभ हुने देखिएको थियो ।
मन्त्रिपरिषद् विस्तारको विषय टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ । उक्त छलफलमा भदौ १४ गते मन्त्रीपरिषद विस्तार गर्ने सहमति भएको छ ।
यो विषयमा (हिजो) शनिबार पनि देउवा र दाहालबीच छलफल भएको थियो । सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे उनीहरूबीच छलफल भएको थियो । (आज) आइतबार यसबारे सबै विषय टुंग्याएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ । यसैबीच नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले आफ्नो पार्टी सोमबार सरकारमा जाने तयारीमा रहेको बताए ।
मन्त्रालयको भागबण्डा टुंग्याउन बाँकी रहेकाले त्यो टुंगिने वित्तिकै मन्त्रीपरिषद् विस्तार हुने उनको भनाई छ । प्रधानमन्त्री देउवा ज्योतिष पण्डित सुरेशचन्द्र रिजालको सल्लाह बेगर केही पनि काम गर्दैनन् । रिजाल तिनै ज्योतिष हुन्, जसले २०७४ को निर्वाचनअघि देउवालाई सातपटक प्रधानमन्त्री हुने योग छ भनेका थिए ।