यस वर्षकै उच्च सप्तकोसीमा पानीको बहाव

admin

काठमाडौं, १३ भाद्र : सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आइतबार दिउँसो यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनअनुसार सप्तकोसीमा २ लाख ५७ हजार ७ सय ९० क्युसेक प्रति-सेकेन्ड बहाव पुगेको छ ।

नदीको बहाव बढेसँगै कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् । यसअघि साउन ३२ गते कोसीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्युसेक प्रति–सेकेन्ड बहाव मापन गरिएको थियो । पछिल्लो मापनले त्यो रेकर्डलाई उछिनेको हो । पूर्वका धेरैजसो भेगमा वर्षा भइरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा रहेको देखाएको छ । जसका कारण कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आँकलन गरिएको छ । यसैबीच निरन्तरको वर्षासँगै कोसीको बहावमा उतार–चढाव देखिँदा सुनसरीको श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान गर्न थालेको छ ।

नदीमा आएको उतार-चढावका कारण यसअघिका हप्तामा कटान भएको त्यो क्षेत्रको कतिपय ठाउँमा फेरि कटान सुरु भएको छ । नदीको बहाव बढेसँगै प्रजिअसहितको टोली कोसी क्षेत्रको निरीक्षणमा निस्किएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही ठाउँमा कटान गरेको खबर प्राप्त भएको बताए । उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया