कुनै पार्टीसँग एकता गर्दैनौँ : माधव नेपाल

admin

काठमाडौं, १३ भाद्र : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् ।

सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टीसँग एकता गर्न लागेको, अरूको पार्टीमा गएर विलीन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे । आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरू विद्यमान रहेको भन्दै उनले पार्टी एकता नहुने स्पष्ट पारे ।

अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशील, चलायमान, समृद्ध बनाउन र नागरिकलाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि आफूहरूको ध्यान केन्द्रित हुने बताए । उनले पार्टीमा युवाहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढाउन तयार रहेको पनि बताए ।

अध्यक्ष नेपालले आफूहरू मार्क्सवादबाट निर्देशित भएर वर्गीय दृष्टिकोण आत्मसात् गर्दै अघि बढ्ने बताए । नेता, कार्यकर्ताले दृष्टिकोणमा विचलन आउन नदिन र गैर सर्वहारा प्रवृत्ति हटाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । यस्तै नेता नेपालले छिटो भन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने पनि बताएका छन् ।

यस्तै आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेमा केन्द्रित छ ।

प्रतिक्रिया