कमेडी च्याम्पियनका ‘जज’ विवादमा ?

admin

काठमाडौं, १३ भाद्र : हरेक शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदै आएको रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन-२ मा (हिजो) शनिबार राति भएका दुई वटा प्रस्तुति चर्चामा रहेकाछन् । शनिबार राति भएका विक्की अग्रवालको पेन्टोमाइम (नबोली अभिनय गर्ने शैली) र भरतमणि पौडेलको (पूर्वयुवराज पारस शाह क्यारिकेचर) प्रस्तुति चर्चामा आएका हुन् ।

पहिलो थियो विक्की अग्रवालको प्रस्तुति । यस्तै कमेडी च्याम्पियनको अर्को प्रस्तुति भरतमणि पौडेलले गरेका थिए । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधिका दावेदार मानिएका प्रतियोगी मध्येका एक हुन् विक्की । विक्की शोको हरेक एपिसोडमा फरक-फरक प्रस्तुति दिँदै दर्शक र निर्णायक रिझाएर उत्कृष्ट ४ मा पुग्न सफल भएका थिए ।

शनिबार साँझको नयाँ एपिसोडमा पनि उनले फरक दिने कोसिस गरेका थिए । जसका लागि उनले रोजेका थिए ‘माइम एक्ट’ । ‘माइम एक्ट’ मा उनले मानिस निदाएको बेला मन कसरी सक्रिय रहन्छ ? भन्ने प्रस्तुति मोनोलकको सहारमा प्रस्तुत गरेका थिए । उनले यो प्रस्तुतिबाट पनि आफ्नो यस अगाडिको प्रस्तुतिमा झै दर्शक हाँस्ने अपेक्षा गरेका थिए । तर हाँसो र तालीको गडगडाहाट रहँदै आएको शोमा यो पटक भने उनको प्रस्तुतिमा सन्नाटा छायो ।

विक्कीको आफ्नो नयाँ थिम दर्शक र निर्णायकका लागि नयाँ स्वाद हुने सोचका साथ प्रस्तुति राखेका थिए । अपसोच, विक्कीको राखेको उक्त प्रस्तुति न निर्णायकले बुझे, न त्यहाँ उपस्थित दर्शकले । सोही कारण उनको प्रस्तुतिमा दर्शक तथा निर्णायकले पहिले झै मनोरञ्जनात्मक फिल गरेनन् । सोही कारण पनि विक्की निकै भावुक देखिन्थे । उनको आँखा आँसुले भरिएको थियो ।

आफ्नो प्रस्तुति निर्णायकले राम्रोसँग महसुस नगरेको अनुभव गरेका विक्कीले कार्यक्रममा भने-‘मलाई थाहा छ, यो प्रस्तुतिले फाइनल नपुर्‍याउन सक्छ ।’ विक्कीको प्रस्तुतिमा कुनै चाख नदेखाएका तीन निर्णायक प्रदिप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रस्तुतिको केही तारिफ त गरे । तर उनीहरुको तारिफ गर्ने शैलीले सजिलै अनुमान गर्न सकिन्थ्यो । प्रस्तुति उनीहरुले राम्रो रुपमा बुझ्न सकेनन् ।

निर्णायक सन्तोष पन्तले विक्कीको प्रस्तुति नबुझेको खुलेआम बताए । उनले भने ‘नेपाली समाज र दर्शकले तिम्रो प्रस्तुति बुझ्दैन । मैले त बुझिनँ ।’ पन्तले विक्कीलाई आफ्नै टेस्ट दिन समेत सुझाएका थिए । शोमा अतिथिका रुपमा पुगेको कलाकार किरण केसीले भने विक्कीले फरक टेष्ट दिएको प्रशंसा गरे । उनले भने- ‘सोमा सबै प्रस्तुतिले हँसाउँछ भन्ने छैन । तपाईको प्रस्तुति उत्कृष्ट थियो । खुसी लाग्यो ।’

जजको कमेन्टपछि विक्की रुँदै बाहिरिएका थिए । ब्याक स्टेजमा पनि उनी रोएको देख्न सकिन्थ्यो । यसैगरी यसअघि पनि उत्कृष्ट प्रस्तुति दिँदै आएका पौडेलले यस पटक पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका थिए । पहिरन अनि रुद्राक्षको माला तथा लामो कपालले उनलाई पारस शाह देखिनमा निकै सघाएको थियो । शाहकै शैलीमा टाउको हल्लाउने र बोल्ने गर्दा उनको प्रस्तुतिले सबै दर्शकलाई पेट मिची-मिची हँसाएको थियो ।

उनको प्रस्तुतिको सन्दर्भमा जज पन्तले भने, एकदमै राम्रो क्यारिकेचर, राम्रो सटाएर । अहिलेको यो अवस्थामा यो प्रस्तुति आफूलाई धेरै राम्रो लागेको भन्दै उनले दोस्रो पटक पनि स्ट्यान्डिङ अबिएशन दिएका थिए । यो कमेडी च्याम्पियनको इतिहासमै पहिलो पटक पनि थियो । गजुरेलको प्रतिक्रिया थियो, ‘उत्कृष्ट प्रस्तुति । जहाँ युद्ध जित्नुपर्छ, त्यहाँ बलियो गढी हुन्छ, जहाँ कमेडी च्याम्पियन जित्नुपर्छ, त्यहाँ भरतमणि हुन्छ ।’

ऋचा शर्माको प्रतिक्रिया थियो, ‘तपाईँ सेलिब्रेटीहरूको पनि सेलिब्रेटी भइसक्नुभएको छ ।’ भट्टराईको प्रतिक्रिया यस्तो रह्यो, ‘सरकार १ सरकारले यो जोखिम परिस्थितिमा चलाउनुपर्ने अस्त्र चलाउनुभएको छ ।’ भरतमणिको प्रस्तुतिलाई चारै जना जजले स्ट्यान्डिङ अबिएशन दिएका थिए । साथै उनी पर्फमर अफ द राउन्ड बनेर फाइनल पुग्ने पहिलो प्रतिस्पर्धी पनि बने । यी दुवैजनाको प्रस्तुतिलाई लिएर जज सन्तोष पन्तप्रति सामाजिक सञ्जालमार्फत् थुप्रै नकारात्मक प्रतिक्रिया आएका छन् । प्रतिक्रियाका कारण जजहरु विवादमा पनि तानिएका छन् ।

प्रतिक्रिया