आज पनि कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै, थप २४ जनाको ज्यान गयो

admin

काठमाडौं, १३ भाद्र : लगातार तेस्रो दिन आइतबार पनि कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । बितेको २४ घण्टामा दुई हजार दुई सय ६० जना कोरोनाका संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख १२ हजार सात सय १२ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा एक हजार तीन सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार दुई सय ५९ जनाको पीसीआर र तीन हजार ३८ जनाको एन्टिजेन गरी १० हजार दुई सय ९७ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ४७ प्रतिशतमा संक्रमण देखिएको हो । आइतबार थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ४२ हजार एक सय ९३ पुगेको छ । यही अवधिमा थप २४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

योसहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार सात सय १४ पुगेको छ । अहिले नेपालमा ३५ हजार सात सय ९६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ६ सय २५ जनाको आईसीयू र एक सय ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया