काठमाडौं, १४ भाद्र : (आज) सोमबारदेखि लगातार झरी पर्ने क्रम केही घट्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार (हिजो) आइतबार (अस्ति) शनिबार जस्तो लगातार झरी पर्ने सम्भावना सोमबार कम छ ।
तर वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा सोमबार पनि ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । मंगलबारदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए ।
मनसुनको अवधि अझै एक महिना बाँकी भएकाले डुबान र पहिरोको जोखिम भने कायमै छ । लगातारको वर्षाले नारायणी नदीको देवघाटमा बाढीले खतराको सतह पार गरेको छ । कोशी, वाग्मती, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतका नदीमा बाढी आए पनि खतराको तह भने पार गरेको छैन ।