सम्झौता सबैसँग गर्ने हो, देउवाको सभापतिको उम्मेद्धवार नै म हुँ, म ब्याक हुन्न : गोपालमान श्रेष्ठ

admin

काठमाडौं, १४ भाद्र : नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेद्धवारी दिने स्पष्ट पारेका छन् । यसको लागि आफू सम्पूर्ण रुपमा तयार भएर अघि बढिसकेको उनको भनाई थियो ।

सोमबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा कुरा गर्दै उनले सो बताएका हुन् । उनले सरकारको नेतृत्वले शेरबहादुर देउवाले गर्ने र पार्टीको नेतृत्व आफूले गर्ने सहमति भएको पनि दाबी गरे । यस्तो छ कुराकानीको सम्पादित अंशः

महाधिवेशनमा तपाईंले सभापतिको उम्मेद्धवारी दिनुहुन्छ ?
निश्चित् छ, बारम्बार कति भन्ने ? उम्मेद्धवारी दिने कुरा निश्चित् छ ।

शेरबहादुर देउवासगँ सम्झौता गर्ने की नगर्ने ?
सम्झौता त सबैसँग गर्ने हो । निर्बिरोध र निविर्वाद रुपमा सभापति बनाउन सके सबैभन्दा राम्रो हो । शेरबहादुरसँग नहुने भन्ने त प्रश्नै छैन । शेरबहादुरको उम्मेद्धवार मै हो ।

तर, बिमलेन्द्र निधीले उम्मेद्धवारी दिइसक्नु भयो, सम्पर्क कार्यालयसमेत खोलिसक्नु भयो नी ?
उहाँले उम्मेद्धवारी दिइसक्नु भएको होइन । अफिस खोल्नुभएको हो । अफिस खडा गर्नु जनसम्पर्कको लागि नौलो कुरा होइन । अरुले पनि गरेका छन् । मेरो पनि छ । खाली तामझामको साथ उद्घाटन नगरेको मात्रै हो ।

त्यसो भए तपाईं ब्याक हुनु हुँदैन ?
म ब्याक हुने कुरै छैन । म नै हो उम्मेद्धवार ।

शेरबहादुर देउवाको तर्फको तपाईं नै हो उमेद्वारी ?
हो, म नै हो ।

तर, शेरबहादुर देउवाले त आफू नै सभापतिको उम्मेद्धवार हो भनिरहनुभएको छ नि ?
अब हाम्रो सभापतिजी, प्रधानमन्त्री भएर चलाउनु हुन्छ । उहाँलाई हामीले सहयोग गर्ने हो ।

त्यसमा सहमती हुन्छ तपाईं र शेरबहादुर देउवा बिच ?
हुन्छ, हुन्छ । उहाँ र मबीच सहमती हुन्छ । उहाँले प्रधानमन्त्री भएर देश चलाउनुहुन्छ अनि म सभापति भएर संगठन सुदृढ गर्दै संगठनलाई चुस्त दुरुस्त बनाएर आगामी चुनावमा सर्वश्रेष्ठ पार्टी बनाउने मेरो लक्ष्य रहेको छ । यसमा हाम्रो सहमति हुन्छ ।

त्यसोभए पार्टी तपाईंले चलाउने अनि सरकार शेरबहादुर देउवाले चलाउने सहमति भएको हो ?
हो, यो अधिवेशनपछि ।

अहिले तपाईं संगठन बिभागको प्रमुख पनि हो, होइन र ?
हो, म संगठन विभागको प्रमुख हो । मैले ७७ वटै जिल्लामा पार्टीलाई सुदृढ गर्न लागिरहेको छु । कोरोनाले केही असर परेको छ । तर, पनि हामी सात प्रदेशकै साथीहरुसँग बसेर छलफलमा छौं । १५ गते मेरो प्रदेशमा पनि भेटघाट कार्यक्रम रहेको छ ।

अब तपाईं आफ्नो पक्षमा माहोल बनाउन प्रदेशमा जाने ?
हजुर, जाने ।

यदि शेरबहादुर देउवाले उम्मेद्धवारी दिनुभयो भने तपाईंले के गर्नुहुन्छ ? ब्याक हुनुहुन्छ ?
होईन, होईन । उम्मेद्धवारी दिने कुरा सबैलाई छुट छ । अब परिस्थिति जे आउछ त्यसलाई झेल्दै जाने हो ।

त्यसो भए शेरबहादुर देउवा मैदानमा आउदा पनि तपाईं ब्याक नहुने ?
हुँदैन, तर त्यो परिस्थिति आउँदैन । शेरबहादुरजीले मलाई समर्थन गर्नुहुन्छ ।

शेरबहादुर देउवाले समर्थन गर्नुभएन भने तपाईं के गर्नुहुन्छ ?
समर्थन गर्नुभएन भने आम साथीहरुको समर्थन लिएर म अघि बढ्छु ।

होईन, यो कृत्रिम विवाद हो । यसको समाधान नहुने प्रश्नै छैन । रमेशजीको नेतृत्वमा बनेको छानविन समितीले समाधान गरिसकेको छ । बाँकी तीन जना नेताहरु बसेर समाधान गर्दै हुनुहुन्छ त्यता समाधान हँुदैगर्छ । यता अधिवेशन पनि हुँदैगर्छ ।

अब १८ गते वडा अधिवेशन हुन्छ ?
हजुर १८ गते वडा अधिवेशन हुन्छ । वडाले आफ्नो छनौट गर्ने काम गर्छ ।

तर वडा अधिवेशन गर्नको लागि समस्या छ अरे नि ?
होईन, १८ गते धेरै जिल्लामा हुन्छ । हुन नसकेका जिल्लाहरुमा १९,२०,२१,२२ गतेसम्म होला । तर, हुन्छ । सबै जिल्लाहरुमा निर्वाचन आयुक्तहरु खटिएर गइसकेको अवस्था रहेको छ । कोही जाँदै हुनुहुन्छ । २० गतेसम्म फाइनल हुन्छ ।

भनेपछि सबै जिल्लाको समस्या समाधान हुन्छ ? तपाईंहरुले धाँधली गर्नुहुदैन् ?
हामीलाई धाँधली गर्नुपरेकै छैन । मुख्य कुरा साथीहरुलाई अगाडी बढाउने हो । कसैले त्यो इच्छा राखेको छ भने पुरा हुँदैन । सच्चा कांग्रेसहरुलाई क्रियाशील बनाएर अगाडि बढाउने हो । युवा पुस्ताहरुलाई अगाडी बढाउने हो । महिला, जनजाति, अल्पसङ्ख्यक सबैलाई समाबेश गरेर अगाडि बढ्ने हो ।

जिल्ला सभापतिहरुको माग कहिले पुरा हुन्छ ?
होईन, उहाँहरुले क्रियाशिलहरुको वेबसाइटमा सार्वजनिक गर्ने भन्नुभएको छ । त्यो हाम्रो कार्यक्रममै थियो । हिजोसम्म ५५ जिल्लाको सार्वजनिक भइसकेको छ । त्यो काम निरन्तर भइरहेको छ । बाँकी उहाँहरुका मागहरु पुरा भइरहेका छन् ।

तपाईं कांग्रेसमा महामन्त्री, उप-सभापती भइसकेको वरिष्ठ नेता हुनुहुन्छ , महाधिवेशन अघि कांग्रेसमा सधैं किन झगडा हुन्छ ?
होईन, अहिले छानविनमा समय लाग्छ । त्यो स्वभाविक हो । छानविन पनि भइसकेको छ । यो डेमोक्रेटिक पार्टीमा अलि अलि छलफल हुनु, विचार विमर्श हुनु स्वभाविक हो । यसलाई झगडा भन्नुहुँदैन् ।

अब, प्रधानमन्त्रीले सरकार विस्तार कहिले गर्नुहुन्छ ?
मंगलबारसम्म हुन्छ भन्ने मलाई विश्वास छ ।

कांग्रेसमा कसलाई मन्त्री बनाउने भन्नेमा विवाद छ, होईन र ?
छैन, कांग्रेसमा विवाद छैन । प्रधानमन्त्रीले छलफल गरेर टुङ्गाउनु हुन्छ ।

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनुपर्छ भनेर उपेन्द्र यादवले भनिसक्नुभयो होईन ?
हैन त्यसलाई जिवित राख्नुपर्ने जरुरत छ भने रहन्छ, छैन भने जान्छ ।

त्यसो भए तपाईंहरुले एमाले र जसपालाई दल विभाजान गर्नुभयो अब फिर्ता लिनुहुन्छ ?
हैन, अहिलेको सरकारले गर्नुपर्ने आवश्यकत्ता थियो । अब हाम्रो सरकार निर्माण गर्न साथ दिएका साथीहरुलाई अप्ठ्यारो परेका बेलामा अप्ठ्यारोलाई पन्छ्याउनुपर्ने थियो त्यो काम अध्यादेशले गरेको हो ।

त्यसोभए कांग्रेस फुट्ने डर छ तपाईंहरुलाई ?
होईन, कांग्रेस फुट्दैन । कांगे्रस एकजुट भएर अगाडि बढ्छ ।

तर, द्वन्द्व छ नि नेपाली कांग्रेसमा, अहिलेपनि गुट-उपगुट छ नी होइन ?
होइन डेमोक्रेकिट पार्टीमा छलफल हुनुलाई द्वन्द्वको रुपमा हेर्नु हुँदैन । छलफल भएर निश्कर्ष निकाल्ने कामहरु भइरहेको छ । छलफल हुनु त राम्रो कुरा हो नी होइन र ?

अहिलेको अवस्थामा सरकारले काम गर्न सकेन, शेरबहादुर देउवाले किन जनताको मन जित्न सक्नुभएन रु सरकारको कामलाई लिएर जनस्तरबाट गुनासो आउन थाल्यो नि ?
होईन, त्यस्तो अवस्था होइन । सरकारले पूर्णता पाउन सकेको थिएन । अब मन्त्रालयको जिम्मेवारी बाँडफाँड हुन्छ । खोप दिने कामहरु राम्रोसँग भइरहेको छ । हिजोको सरकारले भन्दा खोप ल्याएर जनतालाई राम्रोसँग दिने काम भइरहेको छ । दोस्रो डोज पनि लगाएर जनतालाई ढुक्क बनाउने काम सरकारले गरिरहेको छ । त्यसैले यसलाई काम नभएको भन्न हुँदैन । सरकारले काम गरिराखेको छ र गर्छ ।

प्रतिक्रिया