काठमाडौं, १४ भाद्र : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो तत्कालै मर्मत गर्न सडक विभागलाई निर्देशन दिएका छन् । फोहर विसर्जनस्थलमा समस्या भएपछि काठमाडौं उपत्यकामा फोहर थुप्रिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको टोली समस्या समाधानको पहल गरिदिन माग गर्दै (आज) सोमबार प्रधानमन्त्रीलाई भेट्न गएको थियो । भेटमा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सङ्घीय सरकारले जस्तोसुकै सहयोग गर्ने वचन दिएका थिए ।
प्रधानमन्त्री देउवाले आफूहरूसँगको भेटकै क्रममा कार्यालयबाटै सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी सोमबारदेखि नै तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिएको मेयर शाक्यले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको निर्देशनपछि सडक विभागले सिसडोल र बञ्चरे डाँडाको बाटो मर्मतको तयारी थालिहाल्ने जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी दिए ।