मन्त्री बनाउन एकीकृत समाजवादीका तीन मापदण्ड

admin

काठमाडौं, १४ भाद्र : नवगठित नेकपा (एकीकृत समाजवादी)ले निश्चित मापदण्डका आधारमा मन्त्रिपरिषद्मा पठाउने भएको छ। त्यसका लागि मुख्य गरि तीन मापदण्ड बनाइएको नेता बेदुराम भुसालले जानकारी दिए।

उनका अनुसार भुगोल, समावेशिता र नयाँ पुराना पुस्ताहरुबीच सन्तुलन मिलाएर मन्त्री छानिने छ। एकै तिरको मात्रै नहोस् भनेर पूर्व-पश्चिम सबै भुगोलको समेट्ने उनको भनाइ छ। समावेशितालाई पनि ख्याल गरिने र नयाँ पुस्तालाई पनि प्राथमिकता दिने भुसालको भनाइ छ।

‘नयाँ र पुराना साथीहरुलाई पनि मिलाउनु पर्‍यो,’ उनले नेपाल प्रेससँग भने, ‘धेरै पटक सांसद भइसकेको तर मन्त्री हुन नपाउनु भएको साथीहरु हुनुहुन्छ । कतिपय साथीहरु नयाँ पनि हुन्छ, जो पहिलोचोटी सांसद हुनु भएको छ । त्यस्तोमा सन्तुलन मिलाउने भन्ने छ।’

मन्त्रिपरिषद् विस्तारबारे आज सत्तारुढ गठबन्धनका नेताहरुबीच बालुवटारमा छलफल भएको थियो । बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने बताइएको छ। भुसालले अझैं आफूहरुले पाउने मन्त्रालय र मन्त्रीको संख्या टुंगिइ नसकेको जानकारी दिए ।

त्यही कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनको भनाइ छ।राजधानीमा आयोजित आजकै एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि फेरि बसेर यसलाई ठोस रुप दिइने बताएका थिए।

प्रतिक्रिया