काठमाडौं, १५ भाद्र : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल विना निष्कर्ष टुङ्गिएको छ । मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच मंगलबार नै फेरि छलफल हुने सम्भावना छ । मंगलबार बेलुकासम्ममा टुङ्गो लगाएर (भोलि) बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी छ । माधव नेपाल समूहको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भए पनि सहमति जुट्न नसक्दा ढिलाइ भइरहेको छ । गठबन्धनमा रहेका दलहरुबीच शुक्रबारयता दिनहुँजसो छलफल भइरहे पनि मन्त्रालय भागबण्डामा कुरा मिलेको छैन ।
गएको असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले डेढ महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध सत्ता गठबन्धन दलमा कसलाई कुन र कति मन्त्रालय दिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।